राजनीतिमा विचित्र ‘लिला’ देखाउन थालेका प्रचण्डले जनताको विश्वास गुमाइसकेः महासचिव वैद्य

दियो पोस्ट  

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन् । राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री दाहालले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए ।

‘चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए । जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् । यहाँ भन्दा विचित्र के हुन्छ ?, उनले भने,’ त्यो सरकार त टिकाउनुपर्ने हो नि एमालेसँग बसेर । टिकाउन नसकेर फेरि कांग्रेसतिर । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लिला भइसक्यो भन्नुस् । यस्तो चालले अब चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन् ।’