काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीमा महामन्त्री थापाले कोइराला शान्तिपूर्ण राजनीतिको नायक भएको र कोइरालाले थालेको कामलाई पूर्णता दिनु नेपाली कांग्रेसको दायित्व हुने बताए ।
‘गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको नायक हो, उहाँले थालेको त्यो कामलाई हामीले अहिलेसम्म पूर्णता दिन सकेका छैनौं,’ उनले भने, ‘शान्ति प्रक्रियाको नेतृत्व गरेको दलको हिसाबले यसलाई टुंगोमा पुर्याउने मुख्य जिम्मेवारी पनि नेपाली कांग्रेसको हो ।’ उनले त्यसका लागि सबै राजनीतिक दलहरूलाई आह्वानसमेत गरे । ‘हिजो शान्ति प्रक्रियामा सहभागी भएका सबै दलहरूले यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । यो मुद्दामा सबै दलहरू एक ठाउँमा आउनुपर्छ । हामीसँग अब समयको सुविधा छैन । अझै लम्ब्याएर लग्यौँ भने झन् अल्झिदै जान्छ । थप अन्याय हुन्छ,’ उनले भने, ‘अब जतिसक्दो छिटो संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन सक्नुपर्छ । यसलाई निकै धेरै संवदेनशील भएर टुंगोमा पुर्याउनुपर्नेछ ।’
उनले द्धन्द्धपीडितहरूको भावना र मागहरूलाई सम्बोधन नगरेर संक्रमणकालीन न्यायको टुंगो लगाउन नसकिने समेत बताए ।