काडमाडौं । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर कार्यक्रम सुरु गरेका हुन् ।
अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।
सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–०७९’ जारी गरिसकेको थियो । यसलाई कार्यान्वयनमा लगिएको कोषका अध्यक्षसमेत रहेका श्रम सचिव एकनारायण आर्यालले वताए ।
श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा कार्यरत २२ लाख श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गरिएको जनाएको छ । कोषमा आबद्ध हुनका लागि कामदारले तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्न पाइन्छ । यसरी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाइनेछ ।
वैदेशिक रोजगार समय अवधि सकिएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ । विदेशमा गएका श्रमिकले अनलाइनबाट नै आवेदन दिई आफैं सूचीकृत हुनुपर्ने ज्ञवालीले बताए ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको हकमा भने श्रम स्वीकृति दिने बेलै कोषले खाता नम्बर उपलब्ध गराउनेछ । वैदेशिक रोजगारीमा गएका कामदारलाई सम्बन्धित रोजगारदाताले सेवा सुविधा दिएपनि यो नेपाल सरकारले गरेको छुट्टै व्यवस्था हो ।