काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी समेतको मिलेमतोमा तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गरेको खुलेको छ। प्रतिव्यक्ति ५ लाख रुपैयाँ रकम लिएर तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ।
नेपालमा नक्कली बुवा–आमा खडा गरेर, साक्षी समेत नक्कली खडा गरेर, नक्कली सिफारिस बनाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सक्कली नागरिकता उपलब्ध गराउने गरिएको प्रहरीले जानकारी दिएको छ।
यो पक्ररणमा संलग्न गिरोहका सदस्यमध्ये नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको कचनाकबल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौंको बबरमहल घर भइ भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङको सुन्दर हरैचा–३ घर भइ ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा र तनहुँको शुक्लागण्डकी–८ दुलेगौँडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोब्साङ ठिल्ले छन्।
तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता बनाउने कार्यमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको समेत संलग्नता देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीहरुको अहिले बयान प्रमाणीकरणको काम भइरहेको छ।
प्रहरीका अनुसार पक्राउ परेका कृष्ण बहादुर कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए। पक्राउ परेका अर्का व्यक्ति हिरालाल सिवाकोटी समेतको सहयोगमा कटुवालले विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइ, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण कागजात, छाप तथा दस्तखत समेत किर्ते गर्दै आएका थिए।
कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गैरनेपाली विशेषगरी तिब्बती शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेका थिए।
यसरी बनाइएका तिब्बती शरणार्थीका २५ देखि ३० वटा नागरिकताहरु प्राप्त भइ त्यसमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएका थिए। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंभित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
विजय लामाले भित्र मिलाउनुपर्छ भनेर पक्राउ परेका कृष्ण कटवालसँग प्रतिनागरिकता १ लाख ५० हजार रुपैयाँसम्म लिएर नागरिकता प्राप्त गर्ने कार्यमा सहजिकरण गरेको खुल्न आएको छ।
पक्राउ परेका कृष्ण कटवालले मात्रै विगत ५ देखि ६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।