काठमाडौं । बागमती प्रदेश सरकारमा रहेको एमाले एक सय तीन दिनमै सरकारबाट बाहिरिएको छ। शुक्रबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकबाट एमालेले सरकारबाट बाहिरिएको घोषणा गरेको हो।
बैठकमा आफ्नो धारणा राख्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एमाले सरकारबाट बाहिरिएको घोषणा गरे।
उनले सरकारबाट बाहिरिँदै गर्दा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारे। नेता थपलियाले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई अस्थितरताको खाडलमा धकेलेको आरोप पनि लगाए।
गत पुस २५ गते एमाले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा चारजना मन्त्रीसहित सहभागी भएको थियो।