काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण आफ्नो कार्यकालको पहिलो र मूल प्राथमिकता रहेको बताएका छन् । अहिले संगठनसामु समस्याका चाङ रहेको, संगठनको दुर्बल र सबल पक्षलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपाय अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको उनको भनाइ छ ।
आइतबार प्रहरी प्रधान कार्यालयका पदबहालीपछि निर्देशनमा दिँदै उनले नेतृत्वको एक प्रयासले मात्र समस्याको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवं सामूहिक प्रतिबद्धता जरुरी रहेको बताए । कुँवरले प्रहरी संगठनको साख र स्वाभिमान गुम्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
‘यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ–आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशीलताको अपेक्षा गर्दछु । संगठनको हितप्रति केन्द्रित यहाँहरूको प्रयास र योजनाका लागि ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आबद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।’
नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानुनले निर्देशित गरेको मूल्य–मान्यताका आधारमा सञ्चालित हुनुको अर्को विकल्प नभएको उनको भनाइ थियो ।