ईन्जिनियरिङ मर्यादाको खिल्ली उडाउदै बालेन सरकार, निर्माणाधिन संरचनामा पार्किङको धराप अभ्यास

अस्मिता खड्का  

निर्माणधिन संरचनामा पार्किङको व्यवस्था गरिनु सुरक्षा दृष्टिकोणले मात्र खतरा नभई इन्जिनियरिङ मर्यादा विपरितसमेत मानिन्छ । ट्राफिक व्यवस्थापन अभियानको नाममा काठमाडौ महानगरपालिकाले निर्माणाधिन संरचनामा पार्किङको व्यवस्था गर्नु उचित विकल्प नभएको सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफै स्ट्रक्चरल ईन्जिनियर हुन् । शाहलाई ईन्जिनियरिङ आचार संहिता र मर्यादा ख्याल हुनुपर्ने हो । तर, उनै शाहले नेतृत्व गरेको काठमाडौं महानगरमा ईन्जिनियरिङ मर्यादाको खिल्ली उडाइएको छ । शहरमा निर्माणाधिन भवनमा मर्यादा विपरित पार्किङ खुलाएर शाहले ईन्जिनिरिङ मर्यादाको खिल्ली उडाएका हुन् ।

काठमाडौको पुरानो बसपार्कस्थित निर्माणाधिन भवन ‘काठमाडौ भ्यु टावर’का दुइवटा बेसमेन्ट (भुइतला) विगत एक वर्षदेखि निःशुल्क पार्किङको लागि प्रयोग भएका छन् । अन्डरग्राउन्ड (भुमिगत) पार्किङको पहिलो तला दुईपाङ्ग्रे सवारी साधन पार्किङका लागि खुला छ भने दोस्रो तला चारपाङ्ग्रे सवारी साधन पार्किङको लागि खुला गरिएको छ । पार्किङको लागि खुला गरिएको निर्माणाधिन भवनको बेसमेन्टमा निर्माण कार्य पुरा भइसकेको छैन । भवनको दोस्रो बेसमेन्टमा एउटा ‘ज्वाइन्ट’जस्तो खाल्डो नै छ । रडहरु पनि बाहिरसम्म आउने गरी राखिएको छ । काठको फ्ल्यागहरु छोपेर राखिएको छ । गाडिहरु पास गर्न कठिन छ ।


त्यस्तैगरी उद्घाटन भएको वर्षौ वित्दापनि निर्माण पुरा नभएको धरहरा परिसर पनि दुईपाङ्ग्रे सवारी साधन पार्किङको लागि खुला गरिएको छ । हाल पार्किङको लागि खुला धरहरा र भ्यु टावरको बेसमेन्टमा बत्ति, सिसिटिभी क्यामेरा जडान, अक्सिजन र एयर कन्डिसनिङको कार्यसमेत गरिएको छैन । धरहरा निर्माण सम्पन्न नहुँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि नै उद्घाटन गरेका थिए ।

दुई वर्षअघि नै उद्घाटन भइसकेको धरहरा परिसरमा पार्किङ गर्न नपाउने प्रस्ताव मान्य नहुने भन्दै काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमार्फत स्टाटस लेखेर आक्रोस पोखेका थिए ।  महानगरभित्रको ट्राफिक व्यवस्थापन अभियान सफल बनाउने नाममा निर्माणाधिन क्षेत्रमा पार्किङको व्यवस्था गर्नु इन्जिनियरिङ मर्यादा तथा सुरक्षा मापदण्डको खिल्ली उडाउनु हो ।

‘निर्माणाधिन क्षेत्रमा पार्किङ गर्न पाइदैन’

काठमाडौ महानगरपालिकाले न्युरोड र खिचापोखरी क्षेत्रको ट्राफिक व्यवस्थापनको विकल्पस्वरुप निर्माणाधिन काठमाडौ भ्यु टावर र धरहरामा क्षेत्रभित्र पार्किङको अनुमती दिएको हो । महानगरले गत वैशाखदेखि नै भ्यु टावरको बेसमेन्टमा पार्किङको अनुमती दिएको थियो । अनुमतीपश्चात वैशाख २२ गतेदेखि नै सर्बसाधारणले भ्यु टावरमा चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्दै आएका छन् । गत महिना न्युरोडको पार्किङ हटाएपछि मात्र भ्यु टावर पार्किङ एकाएक चर्चामा आएको थियो ।

चर्चापछि पार्किङ गर्नेको संख्या बढेको भ्यु टावरमा गार्ड बसेका निर्माण कम्पनीका एक कर्मचारी बताउँछन् । ‘पहिले दुई र चारपाङ्ग्रे गरी हाराहारी डेढसय गाडिहरु मात्र हुन्थे भने न्युरोडको पार्किङ हटाएपछि भने संख्या बढेको छ’ नाम नबताउने शर्तमा उनी भन्छन्, ‘दैनिक ४ सयभन्दा बढि त चारपाङ्ग्रे सवारी पार्किङ हुन्छन् । दुईपाङ्ग्रे सवारीको हिसाबै राखिएको छैन । सम्भव पनि छैन । दुइपाङ्ग्रे जम्मै हुन्छ ।’ निर्माणाधिन भवनमा हालसम्म कुनै दुर्घटना भए÷नभएकोबारे भने आफु जानकार नभएको ति कर्मचारी बताउँछन् ।

कुनैपनि संरचना निर्माण सम्पन्न हुन जति नै वर्ष लागेपनि निर्माणाधिन भवन वा अन्य संरचनामा सवारी पार्किङ गर्नु उचित विकल्प नभएको स्ट्रक्चरल इन्जिनियरहरु बताउँछन् । इन्जिनियरिङ तथा सुरक्षा सावधानीको दृष्टिकोणले निर्माणाधिन भवनमा सार्वजनिक पार्किङ गर्नु गलत भएको स्ट्रक्चरल इन्जिनियर एआर तुलाधर बताउँछन् । ‘निर्माणाधिन क्षेत्रमा सर्वसाधारणलाई प्रवेशको अनुमतीसमेत दिनुहुदैन ।जोसुकैलाई अनिवार्य हेल्मेट, ज्याकेटसहित सुरक्षा मापदण्ड पुरा गरेपछि मात्र त्यहाँ जान अनुमती दिइनुपर्छ । पार्किङ त झन टाढाको कुरा’ उनी भन्छन्, ‘किनभने निर्माणाधिन क्षेत्रमा खतराको सम्भावना जहिले हुन्छ । निर्माणाधिन भवनमा माथिबाट कुनै सामग्री खस्न सक्छ । पार्किङ गर्न त थुप्रो मान्छेहरु आउछन् । सबैलाई हेल्मेट ज्याकेट लगाएर भित्र जान त सम्भव हुन्न । इन्जिनियरिङ मर्यादा एवम् सुरक्षाको दृष्टिकोणले कुनैपनि निर्माणाधिन क्षेत्रमा त्यसरी आवतजावत गर्न पाइँदैन ।’
बाध्यताभन्दा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनी बताउँछन् । ‘पार्किङको बाध्यता आफ्नो ठाउँमा छ । तर सुरक्षा पहिलो प्राथमिकता हो । गाडि पार्किङ गर्न जादा कुनै दुर्घटनामा परियो, गाडिको असुरक्षा भयो भने जिम्मेवार को हुने ?’ उनी थप्छन्, ‘सुरक्षा सावधानीलाई ध्यानमा राख्नुपर्छ । सुरक्षाकै निम्ती विदेशतिर पनि सबै निर्देशिका पालना गरिएको हुन्छ । निर्माणाधिन भवनमा जानै मिल्दैन ।’

पार्किङको तत्कालिन आवश्यकता पुरा गर्न महानगरले तत्कालिन समाधानको लागि रोजेको विकल्प उचित नभएको उनको भनाई छ । ‘न्युरोड क्षेत्रभित्र पर्किङको जरुरी छ तर त्यसको विकल्पमा जुन रोजिएको छ इन्जिनियरिङ अभ्यासअनुसार त्यो विकल्प सहि छैन’ उनी भन्छन्, ‘यदि न्युरोडको सबै पार्किङको लागि हो भने भ्यु टावरमा त्यो क्षमता पुग्दैन । सबै सवारीको लागि ठाउँ सानो छ । कुनै संरचना निर्माण सम्पन्न हुन १० वर्ष २० वर्ष समय लाग्यो भन्दैमा पार्किङ अनुमती दिएर सर्बसाधारणलाई फसाउने काम गर्नुहुदैन ।’

सम्बन्धित विषय विज्ञहरु पनि काठमाडौको आवश्यकताअनुसार ट्राफिक व्यवस्थापनको उचित विकल्पको रुपमा भुमिगत पार्किङ सुझाउने गर्छन् । त्यसको लागि प्राविधिक रुपमा उचित डिजाइन, डिजाइनअनुसार निर्माण सम्पन्नको आधारमा भुमिगत पार्किङ उचित मानिन्छ । तर निर्माणाधिन अवस्थामै भने विभिन्न समस्या देखा पर्ने हुदा पार्किङको लागि नसुझाइने विज्ञहरुको मान्यता छ ।

स्ट्रक्चरल इन्जिनियर्स एसोसियसन नेपालका अध्यक्ष तथा स्ट्रक्चरल इन्जिनियर प्रा.डा राजन सुवाल पनि निर्माणाधिन भवनमा सार्बजनिक पार्किङ अनुमती दिनु उचित विकल्प नभएको बताउँछन् । ‘काठमाडौ भ्यु टावरको अन्डर ग्राउण्ड पार्किङ डिजाइन गरेरै बनाइएको हो । त्यसैले त्यहाँ टेक्निकल्ली समस्या नरहला’ उनी भन्छन्, ‘तर भित्र जादा अध्यारो हुने, गाडि ठोक्किने, ट्राफिक को मोविलिटि व्यवस्थित नहुने र सिसिटिभी जडान नगरिएको अवस्थामा भने समस्या हुन्छ । यात संरचनागत हिसाबमा पार्किङको लागि सुरक्षित छ, समस्या छैन भनेर प्राविधिकको टिमले भन्न्पर्यो । हैनभने निर्माणाधिन अवस्थामै अन्धाधुन्द अन्डर ग्राउण्ड पार्किङ नगरेकै राम्रो ।’

कस्तो अवस्थामा निर्माणाधिन भवनमा पार्किङ गर्न पाइन्छ ?

नेपालमा निर्माणाधिन अवस्थामा सवारी पार्किङ गर्न पाइने या नपाइने भन्नेबारे सुरक्षासम्बन्धी लिखित प्रावधान छैन । तर इन्जिनियरिङ डिजाइन र विज्ञको सुझावअनुसार सुरक्षासम्बन्धी प्रावधानलाई भने अनिवार्य पालना गर्नुपर्छ । जसअनुसार कुनैपनि संरचना निर्माणाधिन अवस्थामा छ या निर्माण सम्पन्न गर्न तोकिएभन्दा बढि समय लाग्ने अवस्थामा सिमित प्रयोजनको लागि उक्त संरचना आंशिक रुपमा हस्तान्तरण गरिएको हुनुपर्छ । यस्तो अवस्थामा भने सुरक्षा सावधानीलाई ध्यानमा राखी आवश्यकताअनुसार निर्माणाधिन संरचना प्रयोग गर्न पाइन्छ ।

नेपाल इन्जिनियर्स एसोसियसन (नेईए)का अध्यक्ष ई. हरि बहादुर दर्लामी संरचनाको अवस्था हेरी प्रयोगको अनुमती पाइने बताउँछन् । ‘कुनैपनि संरचना निर्माण गर्दा पुर्ण या आंशिक रुपमा हस्तान्तरण गरिएको छ÷छैन भन्नेमा ध्यान दिनुपर्छ’ उनी भन्छन्, ‘यसको अर्थ कुनैपनि निर्माण कम्पनीले एक लेभलसम्म काम सम्पन्न गर्यो र त्यहाँ अब बाँकी काम हुन्न । विभिन्न तरिकाले संरचना सुरक्षित छ भन्ने नै हो । निर्माण कम्पनीले आफ्नो ग्राहकलाई कुनै भवन संरचनाको पुर्ण हस्तान्तरण नगरी पार्किङ क्षेत्र मात्र हस्तान्तरण गरेको छ भने त्यस्तो अवस्थामा पार्किङ प्रयोग गर्न पाइयो । यदि आंशिक हस्तान्तरण पनि गरिएको छैन भने पाइएन ।’ यदि उनको भनाईलाई आधार मान्ने हो भने निर्माण कम्पनीहरुले भ्यु टावर र धरहराको भुमिगत पार्किङ हस्तान्तरण नगरिन्जेल त्यहाँ सवारी साधन पार्किङ अनुमती दिन मिल्दैन ।

नेईए अध्यक्ष ई. दर्लामिका अनुसार कुनै संरचनामा कुनै काम सम्पन्न गर्दा १० वर्ष लाग्ने देखियो, कुनै काम सम्पन्न भैसकेको छ र उपयोग गर्न मिल्ने छ भने निर्माण कम्पनीले इन्जिनियरिङ प्रक्रियाअनुसार आंशिक रुपमा हस्तान्तरण गरिदिन पाउछ । तर यदि निर्माण कम्पनीले हस्तान्तरण गरेको छैन, निर्माण कार्य भैरहेको छ, पार्किङ आवतजावत गर्ने स्थानमा नियमित कामहरु भइरहेको छ भने निर्माण कम्पनीले हस्तान्तरण नै गर्न पाउदैन ।

हस्तान्तरणपछि उक्त संरचना सरकार वा सम्बन्धित निकायले आफ्नो स्वामित्व लिनु भन्ने बुझिन्छ । एकपटक हस्तान्तरण गरेपछि आफ्नो स्वामित्वमा आएको संरचना ग्राहकले स्वीकार्नु हो । तर हस्तान्तरण विनै आवश्यक पर्यो भन्दैमा कुनैपनि निर्माणाधिन संरचना पार्किङको लागि प्रयोग गर्न नपाइने ई. दर्लामिको तर्क छ । ‘पार्किङ आवश्यक भो, ठाउँ खाली छ भन्दैमा निर्माणाधिन भवनमा पार्किङ वा अन्य उपयोग गर्न पाइदैन’ उनी भन्छन्, ‘ग्राहक र निर्माणकर्ता दुवैविच संरचना हस्तान्तरण र स्वीकार्यको एकखाले सहमती हुनुपर्छ । विचमा कुनै किसिमको दुर्घटनाहरु भएमा जिम्मेवार को बन्ने ? जसले जबरजस्ती गर्यो त्यहि निकाय जिम्मेवार हुन्छ । निर्माणाधिन अवस्थामै महानगर र निर्माण कम्पनीले पार्किङको अनुमती दिएको हो भने दुवै निकाय जिम्मेवार हुनुपर्छ । किनकी यी सबै कुरा अन्ततः सुरक्षासँग जोडिन्छ ।’

महानगरसँग छलफल जारी

महानगरपालिकाले निशुल्क पार्किङ सुरु गरेको धरहरा क्षेत्रको निर्माण शहरी विकास मन्त्रालय अन्र्तगत केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)बाट भइरहेको छ । धरहराको पार्किङ निर्माण पुरा नभएको भन्दै भवन तथा आवास इकाईले महानगरलाई पत्र पठाएको थियो ।
हाल निर्माणाधिन संरचनाभित्रको पार्किङसम्बन्धि विषयमाथि थप छलफल जारी रहेको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का आयोजना निर्देशक कोषनाथ अधिकारी बताउँछन् । ‘धरहरा निर्माणाधिन अवस्थामा रहेकोले त्यहाँको सुरक्षा सावधानीको पक्षलाई ध्यानमा राखी पार्किङ हटाउन हामीले नै महानगरलाई पत्र पठाएका थियौ’ उनी भन्छन्, ‘भुमिगत पार्किङमा बत्ति राखिएको छैन, सिसिटिभी क्यामेरा राखिएको छैन । भोली कुनै दुर्घटना होला, गाडिहरु चोरी होलान् । त्यसको लागि बत्ति र सिसिटिभी जडान गर्नुपर्छ । पुरानै कामहरु सकिएको छैन, काम पुरा भएपछि राख्नुहोला भनेका थियौ । तर महानगरबाट कुनै प्रतिक्रिया आएको छैन । छलफलको माहोल भने बनिरहेको छ ।’ निर्माणाधिन भवन वा संरचनामा पार्किङ अनुमती दिनु उचित विकल्प नभएको महानगर स्वयम्ले बुझ्नुपर्ने उनको भनाई छ ।

आयोजना निर्देशक अधिकारीकाअनुसार यससम्बन्धि नेपालमा कुनै मापदण्ड उल्लेख नभएपनि सुरक्षा निर्देशिकाको लागि विज्ञहरुले तयार गरेको डिजाइन प्रतिवेदनलाई आधार मान्नुपर्छ । उक्त प्रतिवेदनमा पार्किङ संरचना प्रयोजनमा ल्याउनुअघि बत्ति तथा सिसिटिभी जडान, एयर कन्डिसनिङ, अक्सिजन इन्जेक्ट लगायत आधारभुत पक्षको कार्य सम्पन्न गर्नुपर्नेबारे उल्लेख हुन्छ । डिजाइनअनुसार धरहराको भुमिगत पार्किङमा यि कामहरु सम्पन्न भइसकेको छैन । सोहि कारण कुनैपनि निर्माणाधिन संरचनाको सुरक्षा मापदण्ड पुरा नहुन्जेल सर्वसाधारणलाई प्रवेश र सवारी पार्किङको अनुमती दिन मिल्दैन ।

महानगर भन्छ, ‘खतराको कल्पना नगरौ’

महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको सुरक्षा जिम्मेवारी लिनुपर्छ । तर काठमाडौ भ्यु टावर र धरहराजस्ता निर्माणाधिन संरचनाभित्र पार्किङ अनुमती दिएको महानगरपालिका भने सुरक्षा सावधानीबारे जवाफदेहि हुनुको सट्टा सकारात्मक सोचमार्फत सम्भावित खतराबाट बच्न सकिने बताउँछ ।
निर्माणाधिन संरचनाभित्रको पार्किङ कत्तिको सुरक्षित छ र सम्भावित खतराको जिम्मा कसले लिन्छ भन्ने प्रश्नमा काठमाडौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भन्छन्, ‘हामी जहिले पनि नकारात्मक पक्षमा मात्र ध्यान दिन्छौ । मान्छेको आयु कति छ कसलाई थाहा हुन्छ ? दुर्घटनाको जिम्मेवारी कसैले लिन सक्दैन । यस्ता दुर्घटना नघटुन् भनेर कामना मात्र गर्ने हो । पार्किङ अनुमती दिइएका संरचना निर्माणाधिन भएको सत्य हो, त्यहिकारण त्यहाँभित्र खतरा छ भन्नु गलत हो । भवितव्य हुनेतर्फ ध्यान दिनुभएन । सकारात्मक पक्षले हेरौँ, खतराको कल्पना नगरौ ।’

मानन्धर नकारात्मक पक्षतर्फ ध्यान दिएर महानगरको ट्राफिक व्यवस्थापनको अभियानलाई नविथोल्न आग्रह गर्छन् । ‘नकारात्मक पक्षलाई केलाउन थाल्यो भने पार्किङ व्यवस्थापनको हाम्रो अभियान तुहिने सम्भावना बढ्छ । खिचापोखरी न्युरोडको पार्किङको चुनौतिको विकल्पको रुपमा हामीले काम गरिरहेका छौ । निर्माणाधिन संरचनामा पार्किङ उचित छैन भन्ने कुरा उठ्योे भने हामी पहिले झै अस्तव्यस्त नै रहने त ? त्यहाँ पार्किङ गर्नेबाहेक हामीसँग तत्काल अरु विकल्प छैन ।’

हाल पार्किङको अनुमती दिइएको स्थानमा आवश्यक सामग्री र थप सुविधाहरु जडान गर्ने योजना महानगर स्वयम्ले अघि सारेको समेत प्रवक्ता मानन्धरको भनाई छ ।