रीता बुढाथोकी, बुटबल । नेपालमै पहिलो पटक ‘दलित ज्ञान उत्सव’ कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायका कला, सीप र संस्कृतिबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यले ‘दलित रिडर’ र ‘तिलोत्तमा नगरपालिका’को संयुक्त आयोजनामा चैत्र १४ गतेदेखि १६ गतेसम्म रुपन्देहीको तिलोत्तमामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बिभिन्न २ दर्जन भन्दा बढी बिषयमा बहस तथा छलफल गरि जातकै कारण दलित समुदायका कला, ज्ञान र सिप ओझेलमा परेको र उनीहरुका कला सीपको प्रर्बधन हुन सके बढ्दो बेरोजगारीको समस्या समाधान हुने निश्कर्ष निकालिएको छ ।
दलित ज्ञान उत्सव कार्यक्रमले विभेदका विरुद्ध सकारात्मक सन्देश दिएको विकास अर्थशास्त्री तथा दलित रिडरका सल्लाहकार सुभाष नेपालीले बताउनु भयो । उहाँले दलित समुदायका ज्ञान, सीप र पेशालाई चिनाउने सवालमा कार्यक्रम सफल रहेको भन्दै जातीय बिभेदकै कारण उनीहरुको सीप र कला ओझेलमा परेको दाबी गर्नु भयो ।
कार्यक्रममा दलित रिडरका सल्लाहकार तथा दलित अध्ययेता शिवहरी ज्ञवालीले नेपालको कृषि दलितकै ज्ञान, सीप र कलामा निर्भर रहेको भन्दै गैैर दलित समुदायले बिभेद अन्त्यका लागि पहल गर्नु पर्ने बताउनु भयो । उहाँले दलित ज्ञान उत्सव कार्यक्रमले दलित र गैर दलित समदायबीचको अन्तरकृयालाई उचाइँमा पुर्याएको धारणा ब्यक्त गर्नु भयो ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले अफ्नै भुमिमा पहिलो पटक दलितहरु ज्ञान उत्सव कार्यक्रम सम्पन्न हुनु ऐतिहासिक कार्य बताउनु भयो । दलित समुदायको सीप र कला मानव सभ्यताको सबैभन्दा उत्कृष्ट नमुना भएको र समाज सञ्चालनका लागि आवश्यक पर्ने ज्ञान, सीप र कला दलित समुदायसंग पर्याप्त भए पनि तिनको सम्मान तथा प्रवर्धन हुन नसकेको प्रति उहाँले खेद प्रकट गर्नु भयो । नगर प्रमुख खाँडले दलितलाई सम्मान गर्नु नै उनीहरुको कलाको सम्मान हुने भएको भन्दै तिलोत्तमा नगरपालिकाले यसका लागि ठोस पहल गरिरहेको बताउनु भयो ।
कार्यक्रममा कान्तिपुर दैनिकका उप–सम्पादक जनकराज सापकोटाले नेपाल संघीयता, धर्म निरपेक्षता, समान सहभागिता र समावेशीताको अभ्यासमा रहे पनि दलित समुदायले जातीय बिभेद तथा छुवाछुतकै कारण कुनै पनि परिवर्तनको अनुभुति गर्न नपाएको उल्लेख गर्नु भयो । राज्यका सबै तहमा दलितको उपस्थिति न्यून रहेको भन्दै उहाँले मिडियामा दलित समुदायको उपस्थिति उल्लेख्य हुनु पर्नेे बताउनु भयो ।
दलितका कला, सीप र संस्कृतिलाई प्रर्बधन गर्न दलित ज्ञान उत्सव कार्यक्रम सफल भएको दलित रिडरका अध्यक्ष रुममणी नेपालीको दाबी छ । कार्यक्रमले विभेदका विरुद्धमा सकारात्मक सन्देश दिएको भन्दै उहाँले यस्ता कार्यक्रम देशैभरि संचालन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा युवा नेता सुरेन्द्र श्री बिश्वकर्माले जातीय बिभेदका कारण दलितका कला र सीप ओझेलमा पर्दै गएको उल्लेख गर्नु भयो । उहाँले लुम्बिनी प्रदेशको बुद्ध भुमिमा दलित ज्ञान उत्सव भब्यताका साथ सम्पन्न भएको भन्दै यस्तो कार्यक्रम सबै स्थानीय निकायले संचालन गर्नु पर्ने बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रबि सेनचुरीले दलित समुदायको कला र सीपको सम्मानमा तिलोत्तमा नगरपालिका सधै प्रतिवद्ध रहेको बताउनु भयो । दलित समुदायका कला बिज्ञानसंग सम्बन्धित रहेको भन्दै उहाँले भन्नु भयो, ‘फलामलाई पगालेर त्यसलाई आकार दिनु, भन्सादेखि खेतसम्मका औजारहरु निर्माण गरेर समाजलाई आजको अवस्थासम्म ल्याई पुर्याउनु दलित समुदायको कलामा आधारित सबैभन्दा महत्वपूर्ण योगदान हो । दलितहरु ऐतिहासिक बैज्ञानिक हुन् । बैज्ञानिकलाई नै अपमान गरे पछि बिज्ञान कसरी फक्रिन सक्छ? ऐतिहासिक बैज्ञानिक समुदायलाई दलित बनाइएको समाजमा उनीहरुका कला ओझेलमा पर्नु स्वभाबिकै हो ।’ दलितको कलालाई सम्मान गर्न सके देशको बेरोजगारी अन्त्य हुन सक्ने उहाँको दाबी छ ।
उक्त ज्ञान उत्सवमा विभिन्न दलित अधिकारकर्मी, मानवअधिकार्मी, सञ्चारकर्मी तथा जनप्रतिनिधिहरुले दलित समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरु विभेदमा परेको र विभेदको अन्त्यका लागि उनीहरुको श्रम र सीप र संस्कृतिको सम्मान हुने पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बिभिन्न ख्याती प्राप्त कलाकारद्वारा संगीत प्रस्तुत गरिएको थियो ।