बालेन्द्र शाहको मन्त्रिमण्डलः शिक्षित अनुहारको नयाँ राजनीतिक प्रयोग, अनुभवको परीक्षा सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गठन गरेको १५ सदस्यीय मन्त्रिमण्डल यतिबेला देशभर चासो र बहसको विषय बनेको छ। प्राविधिक दक्षता, उच्च शैक्षिक योग्यता र गैरपरम्परागत राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई समेटिएको यस मन्त्रिमण्डललाई नेपालको राजनीतिमा नयाँ अभ्यासका रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाह स्वयं इन्जिनियरिङ पृष्ठभूमिका स्नातकोत्तर तह उत्तीर्ण व्यक्ति हुन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदै राष्ट्रिय राजनीतिमा उदाएका उनले सुशासन, पारदर्शिता र परिणाममुखी कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

मन्त्रिमण्डलमा समावेश अधिकांश मन्त्रीहरू उच्च शिक्षित देखिन्छन्। अर्थमन्त्री स्वर्णिम वाग्ले र सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले विद्यावारिधि (पिएचडी) हासिल गरेका छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल, स्वास्थ्य मन्त्री निशा मेहता, कानून मन्त्री सविता गौतम लगायतका मन्त्रीहरू स्नातकोत्तर तहका छन्। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्री सुमित पोखरेल स्नातक तह उत्तीर्ण छन्।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्सालले विद्यावारिधि गरेका छन् भने गृह मन्त्री सुदन गुरुङले ए लेभल गरेका छन्। अन्य मन्त्रीहरू जस्तै भूमि व्यवस्था मन्त्री प्रतिमा रावल, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दीपक साह र महिला तथा बालबालिका मन्त्री सीता वादीले पनि स्नातकोत्तर तह पूरा गरेका छन्।

राजनीतिक पृष्ठभूमिको दृष्टिले हेर्दा, यो मन्त्रिमण्डल परम्परागत दलका पुराना नेताभन्दा फरक देखिन्छ। धेरै मन्त्रीहरू प्राविधिक, शैक्षिक तथा नीति अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तिहरू हुन्। केही मन्त्रीहरू नयाँ पुस्ताका प्रतिनिधि मानिन्छन्, जसले राजनीतिक अनुभवभन्दा बढी पेशागत दक्षता बोकेका छन्।

यस्तो संरचनाले नीति निर्माणमा गुणस्तर सुधार गर्ने सम्भावना देखिए पनि कार्यान्वयनमा राजनीतिक अनुभवको अभाव चुनौती बन्न सक्छ। साथै, विभिन्न मन्त्रालयबीच समन्वय र प्रशासनिक नियन्त्रण कायम राख्नु पनि सरकारका लागि परीक्षाको विषय हुने बताइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डललाई ‘योग्यता आधारित’ र ‘नयाँ सोचको प्रतिनिधित्व गर्ने’ टोलीका रूपमा व्याख्या गरिएको छ। अब यस टोलीले जनअपेक्षा अनुसार नतिजा दिन सक्छ कि सक्दैन भन्ने कुराले नै यसको सफलताको मापन गर्नेछ।

सिफारिस