राजाको छोरा राजा, आचार्यको छोरा आचार्य, पण्डितको छोरा पण्डित र दीक्षितको छोरा दीक्षित हुने नेपाली समाजमा अर्को जबर्जस्त मानक थियो- कांग्रेस भनेकै ‘कोइराला’ । कोइराला वंशबाहेक कोही नेतृत्वमा आउँछ भने पार्टीकै जात जान्छ भन्ने एउटा जबर्जस्त मान्यता स्थापित थियो, नेपाली कांग्रेसमा । अब यो मानक ढलेको छ ।
कांग्रेसमा यस्तो मानक हुनुको ऐतिहासिक पृष्ठभूमिको आफ्नै गरिमा र गौरव नभएको होइन । भनाइको मतलब, कांग्रेस पार्टीभित्र र देशको परिवर्तनमा बीपी कोइरालालगायत कोइरालाहरुको योगदानलाई भुल्नुहुँदैन ।
जेहोस्, देशमा राजाको छोरा राजा हुन नपाउने व्यवस्था ढलेको धेरै भएको छैन । यता, कांग्रेसमा कोइराला वंश मूल नेतृत्वमा आउँदै छैन, तर पेरिफेरीमा वंशको अंश खाने दाउमा भने केही अद्यापि छँदै छन् ।
अहिले कांग्रेस १३ औँ महाधिवेशन नामको डंुगाबाट नयाँ यात्रा थालनी गर्दै छ । यो यात्रामा कोइराला वंशको हातमा डुंगा खियाउने बहना छैन । तर, भविष्यमा कोइराला वंशको हातमा बहना नजाला भनी यकिन गरी भन्न सकिँदैन ।
देश, काल, परिस्थितिको जुन घडीमा कांग्रेसको जन्म भयो, उसको जन्मकुण्डली इतिहासमा स्वणिर्म अक्षरमा छँदै छ । त्यही चिनाका आधारमा कांग्रेसले इतिहासदेखि नै शत्रु र मित्र कमाउँदै आयो । राणा, राजा वा पञ्चसँग राष्ट्रियता, लोकतन्त्रका निम्ति संघर्ष गर्यो ।
यो यात्रामा कांग्रेसलाई जनताको महत्त्वपूर्ण साथ रह्यो ।
कांग्रेस जन्मेर बामे सर्दै गर्दा उसको हात समाउन धेरै आए । यसरी आउनेमा मुखिया, जिम्मावाल, जमिनदार नै थिए । अन्ततः कांग्रेस मुख्यतः मुखिया, जिम्मावाल र जमिनदारको पार्टी हुन पुग्यो ।
कांग्रेस जन्मेर बामे सर्दै उदाउँदो घामलाई हेरेर हाँस्दै गर्दा उसको हात समाउन धेरै आए । यसरी आउनेमा मुखिया, जिम्मावाल, जमिनदार नै थिए । राजा वा राणाको नुनको सोझो र जनताको पसिना खाँदै आएका मुखिया-जिम्मावाललाई कुनै तेस्रो शक्तिले बोलाउँदै थियो । जुन शक्ति कसैको आडमा नभएर स्वतन्त्र ढंगले उभिएको थियो ।
समय क्रमसँगै कांग्रेसलाई समाजका हुनेखानेले नै साथ दिए । जब देशमा कम्युनिस्टहरु सलबलाउन थाले, समाजका हुनेखानेमाथि एउटा जबर्जस्त भ्रम पर्यो, पारियो- कम्युनिस्ट भनेका साम्यवादी हुन्, सबै सरोबरी गर्छन्, जातभात भन्दैनन् ।
यस्तो परिप्रेक्ष्यमा कांग्रेसलाई आफ्नो आकार, औकात र आदर्श विस्तार गर्न सहज भइदियो । अन्ततः कांग्रेस मुख्यतः मुखिया, जिम्मावाल र जमिनदारको पार्टी हुन पुग्यो ।
यी मुखिया, जिम्मावाल र जमिनदार भनेका मूलतः कथित अभिजात नै हुन् । जब समाजका कथित अभिजात राजनीतिक शक्तिसँग जोडिन आए, तब देशमा विभेदले प्रश्रय पाइरह्यो । विश्वस्तरमा राजनीतिक चेत, समाजवादी चेत र उदारवादी वा पुँजीवादी चेतको बहस चरमोत्कर्षमा पुगिरहँदा नेपालमा राणा र राजतन्त्रीय निरंकुशता क्रमशः चरमबिन्दुमा रह्यो । राजतन्त्रीय निरंकुशतालाई केही खुकुलो पार्ने लडाइँमा कांग्रेस अग्रपंक्तिमै रह्यो र जनतामा परिवर्तन गर्ने कांग्रेसले नै हो भन्ने पार्यो । यो धेरै हदसम्म सही नै थियो ।
गिरिजाप्रसाद कोइराला मात्रै १२ वर्ष देशको प्रधानमन्त्री भएको देखिन्छ । तर, यो देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्न माओवादी नै सत्तामा आउनुपर्यो
जब देशमा बहुदल आयो, कांग्रेसभित्रका कतिपय मुखिया, जिम्मावाल र जमिनदारहरु ठेकेदारमा बदलिए । कतिपय कांग्रेसीहरु शक्ति र पदमा लुछाचुँडी गर्न थाले । अनि, कांग्रेसमा राष्ट्रियता, लोकतन्त्रको बहस कमजोर हुँदै गयो । समाज कस्तो छ ? समाजलाई कता लैजाने ? यसमा कांग्रेसको कुनै सैद्धान्तिक दृष्टिकोण बनेन, बनाउन आवश्यक पनि देखेन ।
देशमा गरिबी, जातीय विभेद चरमोत्कर्षमा थियो र अझै छ । मुठीभरका मानिस राज्य संयन्त्रमा पुगे । राजाको छोरा राजा भएजस्तै कर्मचारीको छोरा कर्मचारी, सेना वा प्रहरीको छोरा सेना-प्रहरी, मन्त्रीको छोरा मन्त्री हुने प्रवृत्तिले प्रश्रय पायो । तर, कांग्रेसले यसलाई प्राकृतिक ऋतुको रुपमा लियो । यसले समाजमा कस्तो खाडल बनाउँदै छ ? समाज कता जाँदै छ, भोलि कस्तो द्वन्द्व हुनेवाला छ ? त्यहाँसम्म कांग्रेसको चिन्तन नै पुगेन ।
तर, कांग्रेसको चिन्तन नपुगे पनि समाजमा चरम विभेद थियो र माओवादीलाई जनयुद्ध गर्न सहज भयो । एउटा दमाई, कामी वा कथित दलितले दुइटा डाँडा काटेर नजाँदै १२ जना विष्टलाई जदौ वा नमस्कार गर्नुपथ्र्यो, यो चलन कतिपय ठाउँमा अझै छ । हिसाब गर्दा कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला मात्रै १२ वर्ष देशको प्रधानमन्त्री भएको देखिन्छ । तर, यो देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्न माओवादी नै सत्तामा आउनुपर्यो ।
देश र जनताको उन्नतिको मूल आधार शिक्षा हो । देशमा निजी र सरकारी गरी दुई शिक्षा छ । सरकारी शिक्षा नाम मात्रको जस्तो छ । समाजमा चारजना धनीले एउटा निजी स्कुल खोल्न थाले । हुनेखानेले आफ्ना सबै सन्तानलाई निजी स्कुल पढाउन थाले । तर, गरिब वा मध्यम वर्गले छोरालाई निजी र छोरीलाई सरकारी स्कुल पढाउन थाले । यसले वर्गीय र लैंगिक विभेदको खाडल सिर्जना गर्यो । तर, कांग्रेसले यसलाई पनि प्राकृतिक परिवर्तन देख्यो । मानौँ, यस्तै हुने हो र भइरहेछ । यसबारे उसले कुनै सैद्धान्तिक दृष्टिकोण बनाउन र परिवर्तनको प्रयास गर्न आवश्यक ठानेन ।
अहिले कांग्रेसको मूल नेतृत्व एउटा वंशबाट अन्यमा जाँदै छ, गइसकेको छ । अबका केही वर्ष कांग्रेसका लागि संक्रमणकाल हुनेछ
अझै पनि कांग्रेसको मान्यता छ कि समाज सहिष्णु छ, मिलेर बसेको छ । समाजमा उत्पीडित समुदाय दबिएर बसेको कांग्रेसले अझै पनि देख्दैन । राजा ढलेपछि देशका विभिन्न समुदायले आवाज उठाए । कांग्रेसले यसलाई अराजकता ठान्यो । कांग्रेस सबैभन्दा ठूलो पार्टी हुँदा, कांग्रेस सत्तामा हुँदा संविधान जारी भएको छ । तर, कांग्रेसले संविधानप्रति असन्तुष्ट समुदायलाई सम्बोधन गर्न आवश्यक ठानेन । जब राजनीतिक खिचातानीका कारण कांग्रेस सरकार च्युत हुन पुग्यो, तब पनि कांग्रेसले विपक्षीको प्रभावकारी भूमिका निभाउन सकेन र देशले भारतीय नाकाबन्दी सामना गर्यो ।
अहिले कांग्रेसको मूल नेतृत्व एउटा वंशबाट अन्यमा जाँदै छ, गइसकेको छ । अबका केही वर्ष कांग्रेसका लागि संक्रमणकाल हुनेछ । किनभने, यो परिवर्तन संस्थागत हुन त्यति सजिलो छैन । कांग्रेसभित्र विभिन्न समूह, समुदाय, वर्ग, वंशले आवाज उठाउने निश्चित छ, जसरी राजसंस्था ढलेपछि अहिलेसम्म विभिन्न जातजाति, समुदाय, क्षेत्रले आवाज उठाएका थिए ।
अबको कांग्रेस नेतृत्वलाई पार्टीभित्रको अराजकता व्यवस्थापन गर्दै सफलतापूर्वक संविधान कार्यान्वयन गर्नुछ । ठूलो पार्टी भएकाले पनि संविधान कार्यान्वयनको जिम्मा कांग्रेसको काँधमा छ । कांग्रेसको आगामी नेतृत्वले संविधान कार्यान्वयन गर्न र समाजका विभेदलाई अन्त्य गर्न पहल गरोस्, अनि मात्रै एउटा वंशबाट अन्यमा नेतृत्व गएको अर्थ रहनेछ ।
अनलाइनखबर डटकमबाट साभार