काठमाडौं, ६ चैत्र । ‘क्लिन काठमाडाैं ग्रीन काठमाडौं’को नारासहित शनिबार विहान पशुपति क्षेत्रमा सरसफाई गर्न पुगेका नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराई सहितको टोली पशुपति पुग्दा त्यहाँका सर्वसाधारणहरु भने अन्यौलमा थिए ।
पशुपतिको मुख्य क्षेत्रको अवस्था त्यस्तै थियो । त्यो कुनै फोहर फाल्ने ठाँउ भन्दा कम थिएन । आजसम्मका नेताहरु जो जन्मिए उनीहरुले फोहोरमा पस्ने आँट गरेनन् । तर बाबुराम अपवाद बनेर आए । शीरमा रातोटोपी र हातमा झाडू लिएर फोहोरमा हामफाल्ने हिम्मत गरेका बाबुरामका पछाडी १५ सय युवाहरुको जमात थियो । उनीहरु एकाएक फोहोर उठाउन कस्सिए । वरिपरिका सर्वसाधरण भने पूर्व प्रधानमन्त्रीको हातमा झाडू देख्दा अनौठो मान्दै थिए ।
‘एक छिन त म अक्क न बक्क’ भएँ एकाएक राता टोपी लगाएका हातमा झाडु बोकेका धेरै मान्छे पशुपतिमा देखिए । साथमा माउवादीका प्रधानमन्त्री बाबुराम पनि आए । बाबुराम त नयाँ शक्तिका हुन् भन्ने सुनेको थिएँ, बिर्सिसकेछु,’ फूल बेच्दै आएका कंशलाल मोक्तान भन्दै थिए, ‘सबैले यस्तो काम गरे त देश सफा हुन कति नै समय लाग्ला र ?’
अभियानमा बाबुरामसँगै नायीका तथा नयाँ शक्ति अभियानता करिश्मा मानन्धर, चलचीत्र नायक सरोज खनालहरु हातमा झाडू बोकेर कस्सिएका थिए । अभियानलाई पशुपति विकास कोषका कर्मचारीले समेत सहयोग गरेका थिए । ६ महिनासम्म चल्ने अभियानलाई सर्वसाधरणले भने संशयको घेरामा राखेका छन् । ‘आवश्यकता भन्दा बढी प्रचार भएको छ,’ एक सर्वसाधरण भन्दै थिए, ‘प्रचारमूखी भन्दापनि काममूखी हुनु पर्छ ।’
अभियानमा लागेका संयोजक भट्टराईले कोषका कर्मचारीलाई समेत सम्झाएका थिए । ‘यस्तो विकृति त गर्नु भएन नि ? अलिकति त ध्यान दिनु प¥यो,’ विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीलाई भेटेर भट्टरार्इ भने भने, ‘सरसफाइ गराउनु प¥यो । यो त विश्वसम्पदा सुचिमा परेको ऐतिहासीक धार्मीक क्षेत्र हो ।’
भट्टराईले सुवेदीलाई ‘यस्तो फोहोर किन ?’ भन्दै प्रश्न गरेका थिए । उनको प्रश्नमा सुवेदीले ‘भष्मेश्वर हो हजुर फोहोर नै हुन्छ’ भनेका थिए । ‘नामै भष्मेश्वर रहेछ फोहोर पनि त्यतिनै ’ उनले सुवेदीलाई यस्तो जवाफ फर्काउदा कार्यस्थलमा हाँसोको माहोल बनेको थियो ।
सुवेदीले आफूहरसँग जनशक्ति नभएको भन्दै उनलाई उत्तर दिएका थिए । भट्टराईले चेतनाको अभावले गर्दा फोहोर बढेको बताएका थिए ।नयाँ शक्ति नेपालले सुरु गरेको यो अभियानमा १५ सय कार्यकर्ता सहभागी बनेका थिए । यो अभियान ६ महिनासम्म चल्ने जनाइएको छ । ‘यसलाई सबैले व्यवहारमा उतारे छिटै शहरमात्र होइन देश नै सफा हुने थियो,’ अभियानका संयोजक गंगानारायण श्रेष्ठ भन्छन् ।
केहि समय त पशुपति क्षेत्र नयाँ शक्ति अभियानका राता टोपिले रंगीएको थियो । पुशपति क्षेत्र पनि सफा देखिएको थियो । ठाँउ ठाँउमा फोहरका थाम जम्मा भएका थिए । अभियन्ता भन्दै थिए, ‘नगरपालीकाका गाडि कतिबेला आउने हुन् ?’