मेलम्ची, ७ चैत । भूकम्पपछि क्षतविक्षत भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १२ माझी बस्तीमा थाई नेपाली सङ्घ थाइल्यान्डलगायतका विभिन्न सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको ‘नमुना माझी बस्ती’ शनिबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ ।
छयालीस परिवारलाई घर एक शौचालय, एक सामुदायिक भवन खानेपानीको धारासमेत निर्माण गरिएको उक्त नमुना बस्ती राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा डा खतिवडाले चैतभित्रमा सिन्धुपाल्चोक जिल्लाको सर्वेक्षण सक्ने र पुनःनिर्माणका लागि वास्तविक भूकम्पपीडितको पहिचान गरेरमात्र आवास निर्माणका लागि रकम वितरण गरिने बताए ।
आरुबोटे माझी बस्ती निर्माणमा करिब रु एक करोड २० लाख खर्च भएको थाई नेपाली सङ्घ थाइल्यान्डका उपाध्यक्ष कुमार कार्कीले बताए ।
भूकम्पपछि थाइल्यान्डमा रहेका नेपालीले सङ्कलन तथा विभिन्न शाखा तथा उपशाखासँग समन्वय गरेर माछा मारेर खाने लोपोन्मुख समुदाय, पिछडिएको वर्गको बस्तीमा सहयोग गर्ने हेतुले माझी बस्ती रोजेको कार्कीले बताए।
मेलम्ची नगरपालिकाभित्रको एकीकृत नमुना माझी बस्ती भूकम्प प्रतिरोधात्मक बस्न योग्य पहिलो बस्ती भएको मेलम्ची नगरपालिका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले बताए ।
थाई नेपाली सङ्घले नमुना माझी बस्ती निर्माण गरेकाले सम्पूर्ण माझी बस्तीमा भूकम्पपछिको ठूलोे राहत आएकामा खुसी भएको एकीकृत बस्ती निर्माणका संयोजक नारायण माझीले बताए।