कंचनपुर,भीमदत्तनगर, १० चैत । रुपाल सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको एउटा गाविसको नाम हो । सो गाविसमा बसोबास गर्ने नागरिकलाई रुपाइली भनिन्छ । त्यो रुपालको साइनो यतिखेर कञ्चनपुरको भीमदत्तनगरमा भइरहेको रङ्गीन पर्व रुपाली होलीमा जोडिएको छ ।
डडेल्धुराको रुपालबाट बसाइँ सरेर कञ्चनपुर झरेका रुपालवासी भेला भएर होली समिति बनाएर परम्परागत रुपाली होलीको रौनकतामा भिजेका छन् । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीले सिङ्गो देश उल्लासमय बनेका बेला रुपाली होलीको ४६ पुस्ता लामो इतिहास सुदूरपश्चिममा छ । “सुदूरपश्चिममा मात्रै समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौर तरिकाहरू छन्”, रुपालबाट भीमदत्तनगर बसाइँ सरेका यहाँका समाजसेवी लोकबहादुर ठकुराठीले भने–“पुरानो संस्कृति संरक्षणमा रुपाली होलीको आफ्नै पहिचान छ ।”
हरेक उमेर समूहका युवायुवती, महिलापुरुष तथा बालबालिका होली धुमाधामका साथ मनाइरहेका बेला डडेल्धुराको रुपाल गाविसका मानिस तराईमा झरेको ४६ वर्ष बितिसक्दा पनि उनीहरू आफ्नो परम्परागत होलीलाई निरन्तरता दिइरहेका छन् । रुपाली होली धार्मिक मान्यतालाई कायम राख्दै आफ्नै पहाडिया शैलीमा परम्परागत भाकामा गाएर होली मनाइन्छ । रुपाल होली समितिले भीमदत्तनगरमा रहेक वर्ष एकादशीका दिनदेखि प्रसिद्ध बैजनाथ मन्दिरबाट सुरु गरिने होली पूर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन रहेको छ ।
जागिर तथा अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रुपाली होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्व पनि लिने गरिएको ठकुराठीले बताए । रङ्गीन होलीमा धेरै नै रमाउने रुपाली पुरुष, महिला तथा बालबालिका होली खेलेर आएको रकम विभिन्न विकास निर्माण तथा धार्मिक निर्माणमा खर्च गर्ने गर्दछन् । होलीका गीतको माध्यमबाट विभिन्न धार्मिक भजन गाए पनि गाउछन् । त्यसका साथै फगुवालाई हरेक रुपालीको घरमा विशेष सम्मान दिइने गरिन्छ ।
हरेक वर्ष फागु पूर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको होली पर्वको दोस्रो दिन आज कञ्चनपुरलाई पनि होलीले छपक्कै छोपेको छ ।