काठमाडौं, २० फागुन । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायव उपरिक्षक ९डिएसपी० बाट सशस्त्र प्रहरी उपरिक्षक (एसपी) बढुवाका लागि शक्तिकेन्द्रको आडमा चलखेल शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले फागुन १ गते डिएसपीबाट एसपी बढुवाका लागि सुचना प्रकाशन गरेको थियो ।
सुचना प्रकाशन भएसँगै कार्यक्षमता र दक्षता कमजोर भएका डिएसपीहरुलाई शक्तिकेन्द्रको आडमा बढुवा गर्न लागिएको स्रोतले जनाएको छ। सशस्त्र प्रहरी नियमावली अनुसार ‘अनुसुची–१३’ अन्तर्गतको फारममा आफ्नो योग्यता लगायत आफुले गरेको विशेष कामको विवरण बुझाउनुपर्छ । त्यसपछि बढुवा समितीले सिफारिस सुचि प्रकाशन गर्ने कानुनी व्यवस्था रहेको छ । सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपेन्द्र कुँवरलाई कांग्रेस नेतृ आरजु राणा ९देउवा०ले बढुवा गर्न दवाव दिएको बताइन्छ ।
दिपेन्द्र कुँवर पुर्व प्रधानमन्त्री एवं कांग्रेस सभापती शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाको ज्वाईं हुन् । सशस्त्र प्रहरी नियमावली–२०७२ मा गणपती तालिम वा स्टाफ कलेज पास गरेकालाई मात्र बढुवा गर्नुपर्ने प्रावधान रहेको भएपनि प्रतिस्पर्धाको हिसाबले स्टाफ कलेज पास गर्नेलाई महत्व दिनुपर्ने हुन्छ । डिएसपी कुँवरले स्टाफ कलेज गरेका छैनन् । त्यस्तै, स्टाफ कलेज नगरेका अर्का डिएसपी शंकर खनाललाई सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बढुवा उपहार दिन लागेका छन् ।
शंकर खनाल र सशस्त्र प्रहरी प्रमुख बिच पारिवारिक नाता रहेको छ । केही दिनमा प्रकाशित हुन लागेको सिफारिस सुचिमा ३७ जना डिएसपीहरु एसपी बढुवाका लागी सिफारिस हुँदैछन् । १ सय जना प्रतिस्पर्धी मध्ये सिसम–२ का ३१ जनाले स्टाफ कलेज पास गरेका छन् ।
आरजु देउवाको दवावमा एसपी बढुवा हुन लागेका कुँवर कञ्चनपुरको गड्डाचौकी र रसुवाको गुल्ममा गुल्मपती भइसकेका छन् । दोहोर्याएर गुल्मपती दिने चलन नभएपनि शक्तिकेन्द्रकै आडमा पटक–पटक आकर्षक पोष्टिङ हत्याउन सफल भएका कुँवरले रसुवा गुल्मको प्रमुख हुँदा आधा समय काठमाडौंमै बसेर बिताएका थिए । डडेल्धुराका कुँवर हाल मानवस्रोत विकास विभागका कार्यरत रहेपनि उनलाई सशस्त्र प्रहरी प्रमुख खनालले कार्यालय नै नजाने छुट दिएको सशस्त्र प्रहरी बलका एक अधिकृतले जानकारी दिए ।