काठमाडौं, फागुन २३ । मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् ।
मंगलबार साँझ पनि उही प्रकृतिको समस्या दोहोरियो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति सैनिक मुख्यालय भद्रकाली जाने कार्यक्रमले।
शितल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारी, कान्तिपथबाट उपराष्ट्रपति नन्दबहादुर पुन र बालुवाटारबाट प्रधानमन्त्री केपी ओली पालैपालो नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन सैनिक मुख्यालय भद्रकाली जानका लागि एक घण्टाभन्दा बढी सवारी साधन रोकिए।
खानी विभाग, लैनचौर, केशर महल र राजदरबार संग्राहलयको दक्षिण गेट, भद्रकाली क्षेत्रमा साँझको बेला झन्डै पौन घण्टा सडक जाम हुँदा सर्वसाधारणले अरु बेलाझैं सहेनन्। मोटरसाइकल चालकहरुले बाटो खोल्न आग्रह गरी पटक पटक हर्न बजाए तर ट्राफिक प्रहरीले अनुमति दिएन। दिन मिल्ने अवस्था थिएन।
त्यसकै बीच ‘म्याजिक लाइट’ देखाउँदै ट्राफिकले फुकेको सिट्ठीको बेवास्ता गर्दै दरबारमार्गमा रहेका मोटरसाइकलमा रहेका एक युवा जबरजस्ती अघि बढे। उनका पछि पछि अरु मोटसाइकल, स्कुटर, ट्याक्सी र अन्य सवारी साधन हुरुरु अघि बढे। त्यसपछि ट्राफिक प्रहरीले सवारी रोक्न सक्ने अवस्था नै रहेन। दरबारमार्गजस्तै खानी विभाग, लैनचौर, केशरमहललगायत क्षेत्रमा अवज्ञा गरी सवारीसाधन गन्तव्यतर्फ अघि बढे।
लामो समय सवारी रोकिँदा सास्ती भोग्नुपरेको भन्दै उनीहरुले अवज्ञा गरेका हुन्। तर, ट्राफिक प्रहरीले सर्वसाधारणले अवज्ञा गरेको नभई होहल्ला मात्र गरेको प्रतिक्रिया दिए। ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्त भन्छन्, ‘हल्लामात्र गरेको हो, अवज्ञा होइन।’
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। अवज्ञाको पक्षमा ठूलो पंक्ति उभिएका छन्।
सुरक्षाको नाममा विशिष्ट व्यक्ति ओहोरदोहोर गर्दा हुने सवारी जाममा कतिपय बेला एम्बुलेन्ससमेत पर्ने गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा पनि ‘राजकीय शैली’ मा ‘ठूला व्यक्ति’हरुको सवारी हुनु सुहाउँदो नभएको सर्वसाधारणको गुनासो छ।यही भिडियोमा देखिएको दृष्यको पक्षमा बुधबार दिनभर सामाजिक सञ्जाल तातियो।
राजनीतिक विश्वलेषक एवं प्राध्यापक सुरेन्द्र केसीले जनताको पीरमर्का बुझेर राजनीतिक नेतृत्वले व्यवहार प्रदर्शन गर्न नसकेकोमा यस्तो अवस्था आएको बताए। ‘लोकतन्त्र जनताका लागि हो, जनतालाई दु:ख दिन होइन’ उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पटक पटक यस्तो आलोचना भइरहेको छ। यस घटनाप्रति म खेद प्रकट गर्दछु।’ कान्तिपुर दैनिकबाट