ढाड देखिने ब्लाउज र पातलो साडीमा अल्झिएको नारी अधिकार

ढाड देखिने ब्लाउज र पातलो साडीमा अल्झिएको नारी अधिकार

रीता बुढाथोकी


फागुनको अन्तिम सातासम्म पनि यो वर्षको चिसोले काठमाडौँलाई छोडेको छैन । तर नारी दिवसको गर्मागर्मीले छोइसकेको थियो । ८ मार्च, अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । महिलाहरुले पर्वका रुपमा मनाउने दिन । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नारी दिवसको सन्दर्भ पारेर विभिन्न कार्यक्रम आयोजना गरिए ।


यसपालीको १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजीत एक कार्यक्रमले मेरो ध्यान खिच्यो । कार्यक्रम थियो ‘नारी सम्मान तथा बिशेष साँस्कृतिक कार्यक्रम’ ।

नाम चलेको एन.जि.ओ.ले आयोजना गरेको कार्यक्रममा म पनि बोलाइएँ । प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षको सानो हल खचाखच भएिको थियो । म कार्यक्रम सुरु भएपछि मात्र पुगेँ ।
चरैतिर हेरेँ, सबै सुकिला–मुकिला देखिन्थे । मञ्चको अग्रस्थानमा अतिथिहरुको आशन ग्रहण भैसकेको थियो । प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाकी उप–सभामुख डा.शिवमाया तुम्वहाम्फे बिराजमान थिइन् । सँगै पूर्वमन्त्री राधा ज्ञवाली पनि अतिथिको रुपमा मञ्चमा देखिइन् ।

आयोजकका तर्फबाट स्वागत मन्तव्य हुँदैथियो । एकजना महिला कार्यक्रम स्थलमा प्रवेश गरिन् । कर्ली कपाल, गाडा कालो पारेर मिलाईएको आइब्रो, पिंक र ह्वाइट कलरको आइस्याडोसंगै गाजल पोतिएको आँखा, रातो लिपस्टिक, कानमा ठुल्ठुलो झुम्का, निलो साडी अनि पुरै ढाड देखिने स्लीपलेस ब्लाउज र अग्लो हिल जुत्तामा सजिएकी महिला । वास्तवमा उनीे निकै राम्री देखिएकी थिइन् । उनको आगमन संगै सबैको ध्यान उनीतिरै तानियो । लाग्थ्यो उनी कुनै चलचित्रकी चर्चित नायिका हुन् ।


स्वागत मन्तव्यसंगै महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम सुरु भयो । कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने लगभग दुई दर्जन महिला सम्मानित भए । नेपाल टेलिभिजनकी समाचार वाचक अनिता बिन्दु, नायिका केकी अधिकारी लगायत शिक्षा क्षेत्रमा योगदान पुर्याउने केही महिलाहरु पनि सम्मानित भए । सम्मानित हुनेको सुचीमा उनी पनि थिइन् । उपसभामुखको हातबाट माला, खादा र सम्मान पत्रद्वारा सम्मानित हुन पाउँदा सबैजना खुसी देखिन्थे । खुसी नहोउन पनि किन ? आफुले गरेको कार्यको प्रशंसा जो भइरहेको थियो । सम्मान कार्यक्रम सकिए लगत्तै मन्तब्यको कार्यक्रम सुरु भयो । बक्ताहरु कम थिए । तर सबै बक्ताहरुले महिला अधिकारका पक्षमा ठुल्ठुला भाषण गरे । लैङ्गिक समानताका सवाललाई जोडतोडका साथ उठाए । निर्मला पन्तको बलात्कारी र हत्यारालाई पत्ता नलगाएको भन्दै सरकारको केही आलोचना र बिरोध पनि गरे । र बलत्कारीलाई फाँसी दिनु पर्ने बिचार ब्यक्त गरे । हलमा पररर्र ताली बज्यो ।


बोल्ने बक्ताहरु आफु बोलिसकेपछि बाहिरिने क्रम जारी थियो । अन्त्यमा प्रमुख अतिथिको हैसियतले उप–सभामुख तुम्वहाम्फेको बोल्ने पालो आयो । उनले आफ्नो सम्बोधनमा केही राजनीतिक प्रसंगहरु उठाइन् । केही सामाजिक बिषयबस्तुहरु कोट्याइन् । महिला पुरुष बीच समान सहभागिताको कुरा गरिन् । पुरुषलाई बहिस्कार गरेर महिलाहरु मुक्त हुन नसक्ने ठोकुवा पनि गरिन् । अनि महिलाहरु फेसनबाट मुक्त हुँदै आफ्ना अधिकारका लागि सधै प्रतिबद्ध रहन आब्हान समेत गरिन् । अन्त्यमा महिला दिवसको शुभकामना दिँदै आफ्नो मन्तव्य सकाएर बिदा भइन् ।


उपसभामुखले बोल्दै गर्दा सम्मानित हुने केही महिला सेल्फी खिच्न ब्यस्त देखिन्थे । लाग्थ्यो, उनीहरुका लागि महिला अधिकारको अर्थ मेकअप गर्नु र सेल्फी खिचेर सम्मानित भएको फोटो फेसबुकमा पोस्ट्याउनु मात्र हो ।


अँ, ति महिला जो स्वागत मन्तब्यसंगै भित्रिएकी थिइन्, उनी आफ्नो सुन्दरतामा मग्न थिइन् । उनी पनि सम्मान पत्र हातमा लिई सेल्फी खिच्न ब्यस्त थिइन् । घरि–घरि कपाल मिलाईरहन्थिन् । पातलो साडी, त्यसमाथि पुरै ढाड देखिने ब्लाउज । जाडोले उनका ओठ कापिँरहेका थिए । उनले सभामुखको भाषण बुझिन या बुझिनन् तर आफ्नो सुन्दरता र फेसन नै उनका लागि महिला दिवस थियो ।


मैले मनमनै सोँचे, यती धेरै मेकअप गर्नका लागि उनलाई कति समय लाग्छ होला ? अनि कस्तो खालको योगदानका कारण उनी सम्मानित भइन् ? थुप्रै प्रश्नहरु मनमा उब्जिए । उनुत्तिरित प्रश्नको पोको बोकेर म कार्यक्रम स्थलबाट बाहिरिँए ।


वास्तवमा हाम्रो समाजमा बिहान बेलुकीको छाक टार्नका लागि दिनहुँ सघर्ष गरिरहेका महिलाहरु प्रशस्तै छन् । ती महिलाहरुलाई कुनै दिवसको बारेमा जानकारी पनि छैन होला । सोह्र श्रृंगारमा सजिएर कार्यक्रममा आई सम्मान बुझ्न आएकी उनलाई पनि थाहा छैन होला हाम्रो समाजमा महिलाहरुले बाँच्नुको बिकल्पमा गर्नु परेको दुख कष्ट कस्तो हुन्छ भनेर ।


महिलाहरु बिभिन्न खाले संघर्ष गर्दै, दुख र कष्ट झेल्दै अघि बढेका छन् । राजनीतिक क्षेत्र, सामाजिक आन्दोलन, कृषि, पर्यटन, स्वास्थ्य, शैक्षिक र अन्य क्षेत्रमा पनि उनीहरुको सहभागिता र उपस्थिति राम्रै देखिन्छ । तर अधिकार के हो भन्ने बिषयमा भने अधिकांश महिला अनभिज्ञ छन् ।
अनि, सम्मान गर्ने संस्था तथा निकायहरुले कम्तिमा पनि संघर्षबाट स्थापित, समाजमा उत्कृष्ठ र उल्लेखनीय योगदान पुर्याएका, राष्ट्रिय र अन्र्तराष्ट्रिय जगतमा ख्याती कमाएका महिलाहरुलाई सम्मान गर्न सक्नु पर्छ ।

होइन भने कुनै कोठे गोष्ठीको आयोजना गरी ब्यक्तिको पृष्ठभुमी नै थाहा नपाई हचुवाको भरमा सम्मान गर्ने परिपाटीको बिकास हुने हो भने वास्तविक संघर्ष गर्ने महिलाहरु ओझेलमा पर्ने पक्का छ । अर्को कुरा, महिलाहरुले फेसनमा समय बर्वाद गर्नुको साटो अन्य उत्पादनमुलक क्षेत्रमा समय लगाउन सकेको खण्डमा आधा भन्दा बढि महिला अधिकार त्यहीँबाट स्थापित हुनेछ ।

Trending News