काठमाडौँ,फागुन २९ । सरकारले मानव–वन्यजुन्त द्वन्द्व न्यूनिकरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि सरकारले चालू आर्थिक वर्षका लागि झापामा हात्ति करिडोर निर्माणका लागि ६ करोड बजेट विनियोजन गरेको पनि स्मरण गराउनु भयो ।
बुधबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले झापाको विभिन्न स्थानमा हुने जंगली हात्तिको अतिक्रमणलाई रोक्न हाल सरकारले जलथलमा हात्ति करिडोर निर्माण कार्य सुरु गरेको पनि स्पष्ट पार्नु भयो ।
त्यसैगरी जंगली हात्तिको प्रभाव क्षेत्रमा विद्युतीय तारबारसहितको व्यवस्थापनको काम पनि सुरु गरिएको मन्त्री बस्नेतको भनाई छ । बैठकमा सांसद पवित्रा निरौला खरेलले झापामा जंगली हात्ति न्यूनिकरणका लागि आवश्यक बजेट र कार्यक्रमबारे जानकारी दिन मन्त्री बस्नेतसँग जिज्ञासा राख्नु भएको थियो ।
त्यसको जवाफ दिने क्रममा मन्त्री बस्नेतले सो समस्या समाधानका लागि सरकारले युथ क्लव निर्माण गरेको, जनचेतनामूलक कार्यक्रमलाई अघि बढाएको पनि बताउनु भयो ।
मन्त्री बस्नेतले बर्दिया जिल्लामा हुने गरेका हात्ति आतंक न्यूनिकरणका लागि सरकारले हरेक वर्ष आवश्यक बजेट व्यवस्था गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सांसद संजयकुमार गौतमले बर्दियामा भारतीय जंगलबाट आउने हात्तिले दुःख दिने गरेको भन्दै त्यसको समाधानका लागि के योजना छ रु भनि मन्त्री बस्नेतलाई प्रश्न गर्नु भएको थियो ।
मन्त्री बस्नेतले सांसदहरुले सोधेका प्र्र्रश्नको जवाफ दिँदै निजगढ अन्तराष्ट्रिय विमान स्थल वरपरको जंगलको जैविक मार्गको संरक्षण गर्न सरकार सचेत रहेको पनि स्पष्ट पार्नु भयो । बैठकमा सांसद सरदसिंह भण्डारीले सो विमानस्थल वरपरको जंगलमा निर्माण गरिएको जैविक मार्ग संरक्षण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो ।
त्यसैगरी सांसद राजेन्द्रप्रसाद लिङदेन, देवेन्द्रराज कँडेलले वन क्षेत्रको अतिक्रमणका कारण वन्यजन्तु र मानवबीच द्वन्द्व हुन गएको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकारको भावी योजना र बजेटबारे पनि मन्त्री बस्नेतसँग जिज्ञासा राख्नु भएको थियो ।