दमाम साउदी अरब, १० चैत । रोजगारदाताले औषधि उपचारमा बेवास्ता गर्दा लामो समयदेखि साउदी अरबमा बिरामी भई थला परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।
तीन महिनादेखि कमलपित्त तथा पत्थरी रोगले ग्रस्त भई उपचार पाउन नसकेकी कङ्लाङ–२ लिस्टी, सिन्धुपाल्चोककी लाक्पा तामाङलाई उद्धार गरी स्वदेश पठाइएको हो ।
गैरआवासीय नेपाली सङ्घ एनआरएन को पहलमा साउदी अरबको पूर्वी प्रान्त खोबार, थुक्बाबाट पीडित तामाङलाई उद्धार गरी स्वदेश पठाइएको हो ।
पीडित तामाङलाई नेपाली दूतावासको समन्वयमा उद्धार गरी मङ्गलबार स्वदेश पठाइएको सङ्घका महासचिव तेजबहादुर थापाले जानकारी दिए।
पीडित तामाङ काठमाडौँ रातोपुलस्थित च्वाइस इन्टरनेसनल मेनपावर कम्पनीमार्फत सात महिनाअघि खोबारमा रहेको इनिसियल सप्लायर्स कम्पनीमा कामदारका रुपमा आएकी थिइन् । रोगले ग्रस्त भई थला परेकी तामाङलाई रोजगारदाताले औषधि उपचारमा बेवास्ता गरेपछि उनको अवस्था थप जटिल बनेको थियो ।
पीडित तामाङले आफ्नो उपचार हुन नसकेपछि स्वदेश पठाइदिन अनुरोध गरे पनि रोजगारदाता कम्पनीले करार अवधि पूरा नभएको भन्दै अस्वीकार गर्दै आएको थियो । तामाङलाई साउदी ल्याउन पाँच हजार साउदी रियल खर्च भएको भन्दै रोजगारदाताले सो रकम तिरे मात्र स्वदेश फर्कन दिने बताएको थियो ।