पुराना गाडी पनि मन्त्रीले पठाए आफ्नै क्षेत्रमा

दियो पोस्ट  

काठमाडौं, चैत १३ । सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौँदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आ–आफ्नो क्षेत्रमा बाँडेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै १५–१५ गाडी पुर्‍याएका छन् ।

महँगा गाडी मन्त्रालय परिसरमै थन्किन थालेपछि केही महिनाअघि प्रधानमन्त्री कार्यालयले तिनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै कार्यालयका प्रवक्ता विनोद कुँवरको संयोजकत्वमा बेवारिसे गाडी व्यवस्थापन गर्न समिति बनाइएको थियो । समितिले त्यस्ता गाडी स्थानीय तहमा वितरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दियो । तर, मन्त्री र कर्मचारीको पहुँचका आधारमा गाडी बाँडिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार बाँडिएकामध्ये सबैभन्दा धेरै गाडी मन्त्री पण्डितको क्षेत्रमा पुगेका छन् । उनी मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका हुन् । मोरङका स्थानीय तहमा मात्रै १५ वटा गाडी बाँडिएका छन् । त्यसमध्ये बुढीगंगा गाउँपालिकामा मात्रै ६ वटा गाडी पुर्‍याइएको छ ।

पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको क्षेत्रमा पनि १५ वटा गाडी र मोटरसाइकल बाँडिएको छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित गच्छदारले इनरुवा नगरपालिकामा मात्रै ६ वटा मोटरसाइकल र एउटा गाडी पुर्‍याएका छन् । इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र जिल्ला समन्वय समिति सुनसरीमा पनि गाडी बाँडिएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको प्रभावमा ६ गाडी बाँडिएको छ । सहसचिव पुरुषोत्तम नेपालको प्रभावमा काभ्रेस्थित पाँचखाल नगरपालिकामा मात्रै पाँचवटा मोटरसाइकल र एउटा गाडी दिइएको छ । मन्त्रालयका उपसचिव ईश्वर गिरीको प्रभावमा भोजपुरस्थित रामप्रसाद राई र आमचोक गाउँपालिकामा दुईवटा गाडी बाँडिएको छ ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको प्रभावमा दुईवटा गाडी वितरण गरिएका तथ्यांकमा उल्लेख छ । राईको आदेशपछि संखुवासभास्थित चिचिला र धर्मदेवी गाउँपालिकामा गाडी बाँडिएका हुन् । त्यसबाहेक नेकपाका महासचिव विष्णु पौडेल र नेता देव गुरुङको प्रभावमा समेत गाडी वितरण गरिएको तथ्यांकले देखाउँछ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सिंहदरबारमा राखिएका पुराना गाडी बाँडिएको, तर कुन गाडी कसको प्रभाव क्षेत्रमा पुगेको भन्नेबारे अनभिज्ञ रहेको बताए ।

‘प्रधानमन्त्री कार्यालयको आदेशअनुसार मन्त्रालयबाट करिब ६८ वटा गाडी तथा मोटरसाइकल बाँडिएका छन्,’ उनले भने, ‘ती गाडी क–कसको प्रभाव क्षेत्र पुग्यो भन्ने विषयमा भने जानकारी भएन ।’ नयाँपत्रिका दैनिकबाट