बाजुरामा चामल अभाव : दुई दिन हिँडेर चामल किन्‍न गएकी जुनकला रुँदै फर्किइन्

दियो पोस्ट  

बाजुरा, चैत १५ । बाजुराको हिमाली गाउँपालिका २ बिच्छयाकी जुनकला बुढा १३ वर्षकी भइन्। उनीसँगै गाउँका ४५ जना चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगे। गाउँलेसँगै कवाडी डिपो पुगेकी उनी चामल नपाएपछि रुँदै घर फर्किएकी छन्।

जुनकालाको पाँच जनाको परिवार छ। बुवा दमका बिरामी छन् भने आमा अशक्त। चामल नपाएपछि उनले भनिन्, ‘आमा र बुवा आउन सक्नु हुन्न, म आएँ। तर, चामल नपाएर रित्तो हात फर्कनु पर्‍यो।’

उनले चामलका लागि गाउँका आफन्तकाबाट मासिक सय रुपैयाँको पाँच रुपैयाँ ब्याज दिने सर्तमा पैसा ल्याएकी थिइन्। ‘ऋण काढेर ल्याएको रकममा पनि चामल किन्न पाइएन’, उनले दुःख पोखिन्, ‘त्यहाँबाट कोल्टी जान अझै एक दिन लाग्छ।’

स्थानीयलाई सहजहोस् भनेर कवाडीमा संस्थानले डिपो खोलेको हो। तर, त्यहाँ चामल नभएपछि स्थानीय कोल्टी जान बाध्य छन्। कोल्टी पुग्दा चालम पाइन्छ तर त्यो धरै टाढा पर्छ।

जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन्। धर्माका श्रीमान कामका लागि भारत पुगेका छन्। ‘बजारको भन्दा सस्तो चामल पाइन्छ कि भनेर डिपोमा आएँ। तर, रित्तो हात घर फर्किनु परेको छ’, उनले भनिन्। डिपोमा चामल नपाएपछि कन्दमुलले छाक टार्ने उनले बताइन्।

कबाडी डिपोका लागि नेपाल खाद्य संस्थानले तोेकेको अनुदानको चामल ठेकेदारले ढुवानी नगर्दा चामल अभाव भएको हो। चामल ढुवानीमा लापरबाही भएको हिमाली गाउँपालिका ५ का वडाध्यक्ष अम्मलाल कार्कीको भनाइ छ।

साविकको बिच्छँया गाविसमा चार हजार जनसंख्या छ। सबै घरमा खाद्य संकट भएको उनले बताए। स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खाद्यान्न पुग्दैन।

हिमाली गाउँपालिका बाजुराको विकट गाउँपालिका हो। यो गाउँपालिका विकट गाउँमा पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ।

कवाडी डिपोका लागि खाद्य संस्थान बाजुराले यो वर्ष मात्र ६ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ। तीनजना ठेकेदारमध्ये नन्द महतराले तीन हजार, नरी थापाले दुई हजार र बलबहादुर थापाले एक हजार क्विन्टल ढुवानीको ठेक्का लिएका छन्।

‘असोज महिनामा सम्झौता गरेको हो, तर अहिलेसम्म १५ सय क्विन्टलको मात्रै ढुवानी भएको छ’, वडा अध्यक्ष कार्कीले भने, ‘त्यसैले अभाव भएको हो।’
अन्नपूर्णपोष्ट दैनिकबाट