निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुई पक्राउ

दियो पोस्ट  

काठमाडौं, चैत १५ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन ।
कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुईजनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । तर, कसलाई पक्राउ गरिएको र ती व्यक्ति को को हुन् भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन ।
प्रहरी उच्च स्रोतका अनुसार यसअघि समेत अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनए जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि प्रहरीले यसबारेको सूचना गोप्य राखेको हो । प्रहरीले उनीहरूलाई राजधानी ल्याउने तयारी गरिरहेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीसँग सो विषयबारे बुझ्न खोज्दा उनले आफूलाई कुनै जानकारी नआएको बताए । ‘मलाई यसबारे केही जानकारी छैन,’ केन्द्रीय प्रवक्ता सुवेदीले राजधानीसँग भने ।
यस्तै, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर विष्टले समेत अछामको घटना भएकाले आफूलाई कुनै जानकारी नभएको जनाए । ‘मैले पनि त्यस्तै हल्ला सुनेको छु, अछामतिर बुझ्ने प्रयास गर्दै छु । तर, वास्तविकता के हो ? जानकारीमा आएको छैन,’ कञ्चनपुरका डीएसपी विष्टले भने ।

यसअघि समेत अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनए जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि प्रहरीले सूचना गोप्य राखेको हो

स्रोतका अनुसार प्रहरीले उनीहरूलाई केही दिनअघि पक्राउ गरेको हो । पक्राउ गरेलगत्तै उनीहरूसँग ब्युरोले बयानसमेत लिइसकेको छ । बयानकै क्रममा थप शंका उब्जिएपछि उनीहरूलाई डीएनए जाँचका लागि र अन्य थप अनुसन्धानका लागि भन्दै राजधानी ल्याउन लागिएको हो ।
पक्राउ परेका दुवैजना निर्मलाको हत्या भएको दिन (गत १० साउन)मा कञ्चनपुरमै रहेको र घटनालगत्तै उनीहरू अछाम गएको बताइएको छ । १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव फेला परेको थियो ।

हत्यामा संलग्नको खोजीमा प्रहरीले हालसम्म २६ जनाको डीएनए परीक्षण गरिसकेको छ भने १ हजारभन्दा बढीसँग सोधपुछ गर्दै निगरानी राख्दै आएको छ । तर, हालसम्म अपनाइएका हरेक अनुसन्धान प्रक्रियामा प्रहरी असफल हुँदै आएको छ ।
हाल कञ्चनपुरमा निर्मला हत्याको अनुसन्धानका लागि स्थानीय प्रहरीबाहेक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत अनुसन्धानमा खटिरहेको छ ।

प्रहरीले हत्यामा संलग्न आशंकामा स्थानीयले दिएका शंकास्पद व्यक्तिको हुलियाका आधारमा समेत शंकास्पद व्यक्तिहरूको स्केच बनाएरै अनुसन्धानलाई अघि बढाउँदै आएको छ । तर, हालसम्म अनुसन्धानका लागि लिइएका एक दर्जन व्यक्तिमा कसैको पनि स्केच मिलेको छैन ।
अनुसन्धानका सुरुवाती चरणमै प्रहरीबाटै लापरबाही भएपछि प्रहरीलाई अनुसन्धानमा समस्या हुँदै आएको छ । प्रहरीले दोषी भनेर अनुसन्धानमा लिएका व्यक्तिसमेत डीएनए नमिलेपछि छुट्दै आएका छन् । राजधानी दैनिकबाट