प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ- ‘आमाको अगाडि मावलको बयान !’

दियो पोस्ट  

काठमाडौं, चैत १५ । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी ओलीले आफ्नो दलप्रति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको टिप्पणी पदीय गरिमाको उचाइअनुरूप नभएको आरोप लगाइएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बिहीबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा कांग्रेसलाई ओरालो लागेको भन्दै ‘बिचरा’ को संज्ञा दिएका थिए । ‘एकदलीय अधिनायकवादको कम्युनिस्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वार्द्ध बिताएका जोकोहीलाई जीवनको उत्तरार्द्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिँड्नुपर्ने परिस्थिति निश्चय नै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगीकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अगाडि मावलको बयान’ भन्दा भिन्न छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

शर्माले विज्ञप्तिमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि लगाइएको प्रतिबन्धबारे कांग्रेसको धारणा स्पष्ट रहेको बताएका छन् ।

कार्यक्रममा ओलीले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाइएकोप्रति कांग्रेसले गरेको टिप्पणी वैचारिक रूपमा नै स्खलित मानसिकता भएको जनाएका थिए । कांग्रेसले चन्द समूहको हिंसात्मक गतिविधि, उसमाथि राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिले समस्या समाधान हुन नसक्ने दाबी गरेको छ । ‘हाम्रो धारणा प्रस्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न ।

वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामीले खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतंक त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन चन्द समूहलाई अपिल गरिरहेका छौं ।

विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिहरूको आतंकले मुलुकलाई समाधान दिँदैन,’ विज्ञप्तिमा उल्लेख छ । कान्तिपुर दैनिकबाट