लगानीकर्ताका एकै स्वर– ‘नेपालबाट लाभांश लैजान समस्या छैन’

दियो पोस्ट  

काठमाडौं, चैत १७ । नेपालमा लगानी गरेका अन्तर्राष्ट्रिय लगानीहरुले नेपालबाट लाभांश लैजान कुनै समस्या नभएको अनुभव व्यक्त गरेका छन् । लगानी सम्मेलनको दोस्रो दिन शनिबार अनुभव आदानप्रदान सत्रमा बोलेका लगानीकर्ताहरुले प्रक्रिया पूरा गरे नेपालबाट लगानी लैजान समस्या नभएको धारणा राखेका हुन् ।

लगानीकर्ताको अनुभव आदानप्रदानको सहजीकरण गरेका नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवाल २० वर्षमा कुनै पनि विदेशी लगानीकर्ताले घाटा व्यहोरेको अनुभव आफूलाई अनुभव नभएको टिप्पणी गरे ।

‘नेपाललाई थोरै जनसंख्या भएको देश भनिन्छ तर विश्वमा धेरै जनसंख्या भएको २० देशको सूचीमा नेपाल पर्छ,’ उनले भने,‘पछिल्लो ३० वर्षमा नेपालमा लगानी गर्ने लगानीकर्ताले दोहोरो अंकको नाफा कमाइरहेका छन् ।’

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्ने सबैभन्दा उपयुक्त समय अहिले भएको बताइन् । ‘हामीलाई धेरै विदेशी लगानीकर्ताले राजनीतिक स्थायित्व र ऊर्जाको उपलब्धताको बिषयमा प्रश्न गर्थे,’ उनले भनिन्,‘अहिले राजनीतिक स्थायित्व र ऊर्जाको उपलब्धता दुवै छ ।’

उनले निजी क्षेत्रको सल्लाहमा सरकारले नीतिगत सुधार गरी लगानी गर्ने वातावरणलाई सुधारेको र लगानीकर्तालाई बढी सुविधा दिने गरी कानुन ल्याएको जानकारी दिइन् ।

उद्यमी उपेन्द्र महतोले व्यवसाय गर्न संसारमा सबैभन्दा सजिलो देश नेपाल भएको दाबी गरे । ‘मैले संसारमा धेरै देशमा व्यवसायको अनुभव संगालेको छु,’ उनले भने,’नेपालजस्तो सजिलो कही छैन् ।’ नेपालमा लगानी गरेर नाफा कमाउनेहरुले समस्याको बारेमा सार्वजनिकरुपमा टिप्पणी गर्ने गरेको भए पनि नाफाको बिषयमा कुरा लुकाउने प्रवृत्ति भएको उनको अनुभव छ ।

स्ट्याण्डर्ड चार्टर बैंकका दक्षिण एसिया र आसियान क्षेत्रका प्रमुख कार्यकारी अधिकृत निरुप्त साप्रुले बैंकले नेपालबाट लाभांश लैजान कुनै समस्या नव्यहोरेको प्रष्टाए । उनका अनुसार नेपालका सरकारी निकायमा पहुँच पाउन सजिलो छ र सरकारी अधिकारीले व्यवसायीका गुनासा सजिलै सुन्छन् । उनले बैंकले अन्य देशको जस्तै मापदण्ड अपनाएर नेपालमा सफलतापूर्वक व्यवसाय सञ्चालन गरिरहेको अनुभव सुनाए ।

पछिल्लो समय नेपालमा डिजिटलाइजेसनको प्रक्रिया बढेको भन्दै यसले नेपाली अर्थतन्त्रलाई बढाउने सामर्थ्य राख्ने दाबी गरे ।
यूनिलिभर नेपालका महानिर्देशक आशिष राईले कम्पनीले नेपालमा दीर्घकालिन लगानी गरेकाले कहिलेकानी समस्या पर्दा पनि खुट्टा नहटाएको दाबी गरे । ‘दक्षिण एसियाली मुलुकमा नेपालबाहेक अरु कुनै पनि देशमा औसत जनसंख्याको उमेर २२ वर्ष छैन,’ उनले भने,‘हामीले पनि सरकारी अधिकारीलाई गुनासो सुनाउँदा निराश बनेर फर्किनुपरेको छैन ।’

नेपालमा अरुण तेस्रो विद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलजका अध्यक्ष नन्दलालश शर्माले नेपाल सरकारले विदेशी लगानीकर्तालाई ऊर्जा क्षेत्रमा धेरै अवसर दिएको दाबी गरे । उनले नेपालमा मेशिनरी सामान ल्याउन केही समस्या भोग्नुपर्ने भएकाले यसलाई सुधार गर्नुपर्ने धारणा राखे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यूनिलिभरले नेपालमा कमाएको नाफाको उदाहरण दिंदै नेपालमा जस्तो नाफा अन्यत्र नहुने दाबी गरे । उनले नेपालको अर्थतन्त्र राम्रो बन्दै गएको भन्दै लगानीकर्तालाई तत्काल नेपालमा लगानी गर्न आग्रह गरे । ‘अबको केही वर्षमा नेपालको अर्थतन्त्र आकाशिन्छ र तपाईंहरुले अहिलेको जस्तो सुविधा पाउनुहुन्न,’ उनले भने,‘यहाँ लगानी गर्दा प्रतिस्पर्धा गर्नै पर्दैन ।’ कान्तिपुर दैनिकबाट