काठमाडौं, चैत १७ । गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को पार्टी वैधानिकतामा प्रश्नचिन्ह लागेको छ ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइए पनि उक्त दलले अहिलेसम्म बैधानिकता पाएको छैन । समाचारस्रोतका अनुसार पार्टीले बुझाएको कागजात अपुग छ ।
पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएर बनेको पार्टीको नाम राप्रपा (संयुक्त) राखिएको थियो । राणा र लोहनीको निर्णयका आधारमा मात्र एकता भएको र पार्टीभित्र प्रशस्त छलफल नभएको भन्दै त्यति बेला नै दुवै पार्टीमा असन्तुष्टि रहँदै आएको थियो ।
राप्रपा (संयुक्त) ले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि पार्टी एकताका लागि आव्हान गरिरहेको बेला यो पार्टीको वैधानिकता नै धरापमा पर्ने सम्भावना छ । राप्रपाले हलो चिन्ह मागेको छ । लेटरप्याडमा हलो चिन्ह नै प्रयोग छ । पार्टीले आयोगमा ६४ जनाको केन्द्रीय समिति रहेको नामावली बुझाएको छ ।
राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाइएको ऐनको दफा १० मा दलहरु एकीकरण हुन वा गाभिन सक्ने व्यवस्था छ । यो दफाको उपदफा (१) मा भनिएको छ– ‘दफा ४ बमोजिम दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरु एकआपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्नेछन् ।’
दफा ४ मा दल दर्ता हुनुपर्ने व्यवस्था छ । यसै दफामा थपिएको छ– ‘उपदफा १ बमोजिम एकीकरण हुन वा गाभिन सम्झौता भएको ४५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र उपदफा १ बमोजिमको सम्झौताको प्रतिलिपि संलग्न गरी आयोगमा निवेदन दिनुपर्नेछ ।’
एकताको प्रक्रियामा जाँदा दुवै पार्टीको औपचारिक बैठक नबसेकाले केन्द्रीय समितिको निर्णय दिन सक्ने अवस्था छैन । राणा अध्यक्ष रहेको पार्टीेको अन्तिम बैठक गत वैशाख २५–२७ बसेको थियो ।
निर्वाचन आयोगले यो दललाई आज बिहान ११ बजे बोलाएको छ । दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन भने पनि आवश्यक कागजात नहुँदा के गर्ने भन्नेमा पार्टी नै अन्योलमा छ । तर पार्टीका नेताहरुले आयोगमा बुझाउनुपर्ने कागजात बुझाएको बताइरहेका छन् ।
राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आयोगमा दिएको डकुमेन्ट सबै पूरा भएको बताउनुभयो । ‘दुई चार दिनमै दर्ता होला, हामीले बुझाएका छौं, बाँकी के छ के छैन भनेर हेर्ने काम आयोगको हो’ –लोहनीले भन्नुभयो ।
उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य राजेन्द्र गुरुङले पार्टी दर्ताका लागि सम्पूर्ण कागज उपलब्ध गराएको बताउनुभयो । ‘जे गर्नुपर्ने हो, हामीले गरिसकेका छौं, अब आयोगको गर्ने काम मात्र बाँकी छ’, गुरुङले भन्नुभयो– ‘दल दर्ताका लागि आयोगले केही दिनमा बोलाउला ।’ पार्टी दर्ता गर्ने जिम्मेवारी पाएका कार्य सम्पादन समितिका अर्का सदस्य बाबुराम बस्नेतले अहिलेसम्म आयोगले कुनै ‘डकुमेन्ट’ अपुग भएको नभनेको बताउनुभयो ।
‘दल दर्ताको जिम्मा मैले नि लिएको छु, आयोगले मागेको डकुमेन्ट बुझाएका छौं, त्यसमा समस्या छैन ।’ बस्नेतले केही डकुमेन्ट पछि बुझाएको बताउनुभयो । उहाँले सबै जनाको नाम केन्द्रमा नहुने भन्दै कोही नेताहरु बाहिरै अन्य कमिटीमा बसेर काम गर्ने भएकाले ६४ जनाको नाम मात्र केन्द्रीय समितिमा रहेको तर्क गर्नुभयो ।
२०७५ माघ २ गते पार्टीले प्रकाशित गरेको विज्ञप्तिमा दुबै पार्टीको पार्टी अस्तित्व नरहेको जनाइएको थियो । यसमा केन्द्रीय सचिवालयका संयोजक ध्रुवबहादुर प्रधान र सह–संयोजक भरतजंग उप्रेतीले हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि फागुन २८ गते प्रकाशित पार्टीको अर्को विज्ञप्तिमा भने दुवै पार्टीका सबै संरचना यथावत् रहेको भनी लेखिएको छ । यसो हुँदा यी दुई पार्टीको अस्तित्व छ कि छैन भन्नेमा नै कार्यकर्ता मात्र नभएर नेतासमेत अन्योलमा परेका छन् । २०७४ भदौ ८ गते राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय समितिको बैठकले ६९ जनाको केन्द्रीय समिति रहेको देखाएको छ ।
लोहनी अध्यक्ष रहेको पार्टीमा १ सय १ जनाको केन्द्रीय समिति छ भनिए पनि त्यो संख्या १ सय ५० भन्दा बढी भएको स्रोतको भनाइ छ ।
लोहनीको पार्टी छोडेर राणाकामा गएका ३१ जनाको नाम आफ्नो पार्टीमा नरहेको भन्दै लोहनीको पार्टीले निर्वाचन आयोगमा २०७४ पौष १४ गते पत्र पठाएको थियो । उता राप्रपा (प्रजातान्त्रिक) मा आफूहरुको नाम केन्द्रीय समिति र निर्वाचन आयोगको लिस्टमा नभएको भन्दै वरिष्ठ अधिवक्तासमेत रहनुभएका पार्टी उपाध्यक्ष विष्णुप्रसाद भट्टराईले आयोगमा अभिलेख अद्यावधिक गर्न एकता हुनुभन्दा ३ महिनाअघि नै निवेदन दिनुभएको थियो ।
‘पार्टीमा यो पद तेरो हो भनेर मात्र होइन आधिकारिकता चाहियो भनेको हुँ’, भट्टराईले भन्नुभयो– ‘नियमअनुसार २ वटा पार्टीले केन्द्रीय समितिको निर्णयको प्रतिलिपि बुझाउन त सकेनन् नै, यतिसम्म कि बैठक बसाउनसमेत सक्दैनन् ।’ भट्टराईले राणा, लोहनी र अरु पार्टी छोडेर गएको हुनाले अरु २ वटा पार्टीको अस्तित्व कायमै रहेको बताउनुभयो ।
एकीकृत पार्टीमा राणा र लोहनी दुवै अध्यक्ष रहेका छन् र अरु सबै सदस्य । ५औं नम्बरमा केन्द्रीय सदस्य रहेका केशरबहादुर विष्टले पार्टीको सबै कुरा आफूलाई थाहा नहुने भन्दै सोधेजति प्रश्नको जवाफ दिन मान्नुभएन ।
उहाँ सबै विषय बुझ्न पार्टी कार्यालयमा सम्पर्क गर्न भन्दै पन्छिनुभयो । विष्टले आफू छेउकुनाको नेतामात्र भएको बताउनुभयो । ‘पार्टीमा केहीकेही समस्या नै छ, म त छेउकुनाको मान्छे मात्र हुँ, सबै कुरा थाहा नै हुँदैन’ –विष्टले भन्नुभयो ।
विष्टभन्दा अघि राणा, लोहनी, नवराज सुवेदी र हरिबहादुर बस्नेतको नाम छ । निर्वाचन आयुक्त नरेन्द्रप्रसाद दाहालले आवश्यक प्रक्रिया नपु¥याई आए दल दर्ता गर्न नसकिने बताउनुभयो । ‘जे चाहिन्छ भनेर ऐनमा व्यवस्था भएको छ, त्यो नभई दल दर्ता गर्ने कुरै आउँदैन’, दाहलले भन्नुभयो– ‘नीति, नियम सबैका लागि एउटै भएकाले मापदण्ड हेरेपछि मात्र दर्ताको प्रोसेसमा जान्छ ।’
दाहालले पछि कागजात ल्याउँछु भनेर कसैले पनि दर्तामा सहजता नपाउने पनि बताउनुभयो । आयोगका पूर्व प्रवक्ता नवराज ढकालले ऐनविपरीत कुनै पनि दल दर्ता गर्न नमिल्ने बताउँदै भन्नुभयो– ‘जे कानुन छ त्यसलाई मिचेर जान मिल्दैन’ । नेपालसमाचारपत्र दैनिकबाट