रोल्पामा युद्ध पर्यटनको सम्भावना राम्रो छ : मन्त्री पोखरेल

दियो पोस्ट  

मानसिह विक
रोल्पा, १२ चैत्र । रोल्पामा पहिलो पटक  आएका संस्कृति, नागरिक तथा उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आमूल परिवर्तनको लागि रोल्पा र रोल्पालीले गरेको बलिदानलाई राज्यले सम्बोधन गर्नुपर्नुे बताएका छन् ।

रोल्पा जिल्लालाई पयर्टंनको माध्यमबाट देश विदेश लगायत विश्वमा चिनाउन सकिने थुप्रै आधार भएको बताउँदै यसको विकासमा कुनै राजनीतिक पूर्वाग्रहमा आफू नलाग्ने उनले बताएका छन् । उनले जनयुद्धकालका कम्युन, सहकारी, अस्पताल लगायतकालाई संरक्षण गर्नुका लागि सबैलाई ध्यान दिन आग्रह गरे ।
विहीबार गुरुङ गाउँ होमस्टेको अवलोकन तथा बृहत साँस्कृतिक रमाइलो मेलाको उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री पोखरेलले रोल्पाले देखेको देशको परिवर्तन, सामाजिक न्याय, समानता, समावेशीको सपना साकार भएको बताउँदै रोल्पा परिवर्तनका बाहक भएको उल्लेख गरे ।

रोल्पा धार्मिक, साँस्कृति र युद्धपर्यटनको धेरै सम्भाना बोकेको जिल्ला भएको बताउँदै उनले आफ्नै कार्यकालमा स्वर्गद्वारी, जलजला र रुन्टीलाई  पर्यटन सम्पर्क केन्द्र स्थापना गर्ने घोषणा गरे ।
त्यस्तै उनले  स्वर्गद्वारा महाप्रभू जन्मिएको रोल्पाको रुन्टीमा शालिक निर्माण गर्ने र मगर संग्राहालय निर्र्माण गर्ने आश्वासन दिएका छन् ।
विगतका पर्यटनमन्त्रीहरुले आफ्नो पहुँचको आधारमा कार्य गरेको टिप्पणी गर्दै पोखरेलले आफूले जिल्ला विकास समिति रोल्पालाई आधिकारिक निकाय र कार्यकारी निकाय बनाउने बताए । रोल्पा जिल्लामा रहेको बडाचौर एरपोर्ट सञ्चालनमा ल्याउने मन्त्री पोखरेलको दाबी छ ।