कोरोनाको त्रासः ५ हजार कैदीलाई छोड्ने तयारी

दियो पोस्ट  

काठमाडौं, चैत ७ । चिनको वुहानबाट सुरु भएको कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने सम्भावनालाई रोक्न कारागार व्यवस्थापन विभागले थुनावा र बन्दीसँग भेटघाटमा रोक लगाएको छ ।

विभागका प्रवक्ता देवर्षि सापकोटाले भाइरसको संक्रमण फैलन नदिन अर्को निर्णय नभएसम्म भेटघाटमा रोक लगाइएको बताए ।

‘विभागले कोरोनाको सम्भावित संक्रमणबाट बच्न देशभरका ७२ वटै कारागारमा पत्राचार गरेका छौँ,’ उनले भने, ‘कारागारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तुु आपूर्ति गर्दा र कारागार प्रशासनका कर्मचारी आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छौँ ।’

विभागले सम्भावित संक्रमणलाई फैलिन नदिन कर्मचारी र कैदीबन्दी दुरी कायम राख्न, आवश्यकता बाहेकका वेला कैदीबन्दी रहेको क्षेत्रमा प्रवेश नगर्न, निरन्तर साबुनपानीले हात धुन, सेनिटाइजर तथा मास्कको प्रयोग गर्न र सरसफाइमा विषेश ध्यान दिन पत्रमार्फत आग्रह गरेको छ ।

कारागार व्यवस्था विभागले कैदीको चाप कम गर्न र सम्भावित संक्रमणलाई रोक्न पाँच हजारभन्दा बढी कैदीबन्दीलाई रिहा गर्न गृहकार्य सुरु गरेको छ । विभागको अनुरोधमा गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबीच कैद मिनाहा गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार असल चालचलन सुधार भएका, ५० प्रतिशत कैद भुक्तान गरेका, वृद्ध तथा बालबालिकाको बाँकी कैद मिनाहा गर्ने तयारी भइरहेको सापकोटाले बताए । हाल मुलुकभर रहेका ७२ वटा कारागारमा २५ हजार सात सय एकजना कैदीबन्दी छन् । जसमध्ये बालबालिका १२ सयभन्दा बढी छन् ।

आधा कैद भुक्तान गरेका वृद्ध, महिला गरी पाँच हजारभन्दा बढीलाई बाँकी कैद मिनाहा गर्ने तयारी भइरहेको छ । गम्भीर प्रकृतिको जघन्य अपराध गरेकालाई भने कैद मिनाहा गरिने छैन ।