गाईघाट (उदयपुर), १६ चैत । गएराति विद्युत् प्रवाह शट भई उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित गाईघाट बजारको भोला साहको होटलमा आगलागी हुँदा रु सात लाख बराबरको क्षति भएको छ ।
गए राति आएको भीषण हावाहुरीका कारण विद्युत् प्रवाह शट भएर आगलागी भएपछि साहको होटलका सबै सामान जलेर नष्ट भएको कुरा पीडित साहले बताए ।
होटलका सामान, फ्रिज, टेबल, दराजसहित बाकस र लत्ताकपडासमेत जलेको छ । यता आगलागी भएपनि हावाहुरीको कारण समयमा दमकल पुग्न नसम्क्दा धेरै क्षति भएको साहले बताए ।
बेलुकी ९ बजेदेखि लागेको आगो नियन्त्रण गर्न हरसम्भव प्रयास गर्दा बल्ल प्रहरी र दमकलको सहयोगमा १२ बजे राति मात्र नियन्त्रणमा आएको त्रियुगा नगर प्रहरीले बताएको छ ।
हावाहुरीको कारण क्षति
यस्तै, सोमबार राति आएको भीषण हावाहुरीको कारण उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रलगायत सदरमुकाम गाईघाटमा व्यापक क्षति भएको छ ।
हावाहुरीको कारण त्रियुगा नगरपालिका क्षेत्रमा दर्जनौँ विद्युत्का खम्बा ढलेका छन् भने गएरातिदेखि नगरपालिका क्षेत्रमा विद्युत् समेत अबवरुद्ध हुन पुगेको विद्युत् प्राधिकरण कार्यालय गाईघाटले बताएको छ ।
त्रियुगा नगरपालिकाको वडा नम्बर १६ बागचौरी, वडा नं ११ को जलजले तथा मोहनपुर, सदरमुकाम गाईघाटलगायतका क्षेत्रमा दर्जनौँ विद्युत्का पोल ढल्दा सडकसमेत अवरुद्ध भएको कुरा विद्युत् प्राधिकरण कार्यालय उदयपुरका प्राविधिक इन्जिनियर कृष्ण शर्माले बताए ।
हावाहुरीको कारण जिल्ला अस्पताल बोक्से अगाडिको ठूलो सखुवाको रुख ढलेर विद्युत्को पोलसमेत ढलेपछि अहिले यस क्षेत्रमा सडक नै अवरुद्ध हुन पुगेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
अहिले प्रहरी तथा विद्युत्का कर्मचारी मिलेर सडक अवरुद्ध हटाउने कार्य भइरहेको कुरा उदयपुरका प्रहरी प्रमुख (एसपी) नरबहादुर केसीले बताए ।
यस्तै, गए राति नै आएको हावाहुरीले त्रियुगा नगरपालिका क्षेत्रका डेढ दर्जनभन्दा बढी घरका छाना उडाएको पनि प्रहरीले बताएको छ ।
अहिले हावाहुरीले कति क्षति भयो भन्ने विषयमा प्रहरीले अध्ययन सुरु गरेको र विभिन्न स्थानबाट जानकारी आउने क्रम रहेको पनि प्रहरीले बताएको छ ।
जिल्लाको पूर्वी क्षेत्रको हँडिया, जोगिदह तथा सुन्दरपुर क्षेत्रमा पनि दर्जनौँ घरका छाना हावाहुरीले उडाएको हँडियाका स्थानीय हेमकान्त चौधरीले बताए।