शिक्षकको घुम्ती समूहले ल्यायो सिकाइमा परिवर्तन

diyopost.com
bestnp  मंगलबार, चैत्र १६, २०७२ | ९:१८:३५

काठमाडौँ, १६ चैत । वज्रबाराही माध्यमिक विद्यालय, ललितपुरका शिक्षक कृष्णमैयाँ केसीलाई गणित विषय पढाउन आजभोलि पहिलाभन्दा सहज लाग्छ ।

पहिला–पहिला कालोपाटीमा लेखेर विद्यार्थीलाई हिसाब सिकाउन र बुझाउन शिक्षकलाई हम्मेहम्मे पथ्र्यो । केसीले भने “पहिला बोर्डमा लेखेर जोड, घटाउ, गुणन र भागजस्ता हिसाब गराउनुपथ्र्यो । एकपटकमा विद्यार्थीले कहाँ सिक्न सक्नु नि । पटक पटक बुझाइरहनुपथ्र्यो । तर अहिले त त्यस्तो समस्या छैन ।”

अहिले उनले चकलेट, बिस्कुट, चाउचाउ, दूधको प्लास्टिकजस्ता सामग्रीको प्रयोगबाट विद्यार्थीलाई हिसाब सिकाउन थालेका छन् । यसको विधिबारे जानकारी दिँदै भने– “यसरी काम नलाग्ने कागज, प्लास्टिकलाई स–साना टुक्रा वा धागोजस्तो लामो बनाउने र त्यसलाई गन्न लगाउने । यसले विद्यार्थीलाई रमाइलो पनि अनुभव गराउँछ । खेल्दै रमाइलो मान्दै उनीहरु यो काम गरिरहेका हुन्छन् । ती प्लास्टिकका धागोलाई कसरी जोड्दै, घटाउँदै सामान बनाउने भन्ने सिकाउँदा उनीहरुले हिसाब पनि सिक्छन् र सामान पनि बनिसक्छ त्यो देख्दा उनीहरु निकै खुसी हुन्छन् ।”

केसीले यो सिकाइ एक्लैले हासिल गर्नुुभएको भने होइन । उनलेजस्तै ललितपुरका २० वटा सामुदायिक विद्यालयका शिक्षकले समूहगत रुपमा घुम्ती बैठक (मोबाइल मिटिङ) गरेर सिकेको उपलब्धि हो । बालबालिकाको सिकाइ उपलब्धि बढाउन ललितपुरका विभिन्न विद्यालयमा शैक्षिक जनशक्ति विकास केन्द्र, युनिसेफ र ग्लोबल एक्सन नेपालको सहकार्यमा चार महिनादेखि परीक्षणका रुपमा शिक्षकले व्यावसायिक विकासका लागि सिकाइ समूह (क्रियटिङ टिचर नेटवर्क) बनाएर विद्यार्थीलाई पढाइरहेका छन् ।

उलेन विद्यार्थीले बनाएको प्लास्टिकको हाते थैली देखाउँदै भने– “यो ५ कक्षासम्मका विद्यार्थी आफैँले बनाएको सामान हो । यो प्लास्टिकको भएकाले हातखुट्टा धुनका लागि प्रयोग गर्न पनि सकिन्छ ।” यसले एउटै वस्तुको प्रयोग फरक फरक कामका लागि पनि हुन सक्छ भन्ने सिकाएको उनले बताए ।

उहाँले दुई घन्टाको कक्षा लिँदा पनि विद्यार्थीले अल्छी नमानेको समेत बताए । “दुई घन्टासम्म एउटै शिक्षकले पढाइरहँदा कतै विद्यार्थीले पढ्न अल्छी गर्छन् कि भन्ने लागेको थियो तर विद्यार्थी कक्षा सकिएको घन्टी बज्दा पनि लौ सकियो र रु भन्ने प्रतिक्रिया दिन्छन्” ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्माले गुणस्तरीय शिक्षाका लागि शिक्षकबीचको अनुभव आदान प्रदान विधि नै सबैभन्दा महत्वपूर्ण हुने बताए । उनले भने बाहिरबाट विज्ञ ल्याउनुभन्दा यहीँका शिक्षकलाई अनुभव बाँड्न लगाउनु उपयुक्त हुने विचार बताए ।

शर्माले भने – “यो विधिमा कुन विषयमा कुन शिक्षक दक्ष छ उसको अनुभवलाई कसरी प्राथमिकता दिनुपर्छ भन्ने बारेमा दिगो रणनीतिको तयारी गर्नुपर्छ ।”

ग्लोबल एक्सन नेपालका निर्देशक बाबुकाजी श्रेष्ठले शैक्षिक गुणस्तरका लागि ‘शिक्षकहरुको सञ्जाल’ नै गठन गरी एकापसमा शिक्षण सिकाइका क्रममा भोग्दै आएका समस्या र यसको समाधानका उपायबारे छलफल गर्दा सकारात्मक परिवर्तन आएको बताए ।

“यसबाट हामीले शिक्षकको समेत मूल्याङ्कन गर्छौं”, उनले भने – “घुम्ती बैठक महिनाको कम्तीमा एक पटक बस्छ । शिक्षकले भोगेका समस्याको समाधान खोजिन्छ । यसबाट सबैको समान सहभागिता, विचार आदान प्रदान हुने भएकाले स्वच्छ प्रतिस्पर्धा गरी शिक्षकमा आफ्नो पेसाप्रति आस्था बढाउन मद्दत गर्छ ।”
यो आठ महिने नमुना अभियान सकिएपछि यसलाई अन्य विद्यालयमा विस्तार गर्ने सम्बन्धमा शिक्षा मन्त्रालय र युनिसेफसँग छलफल चलिरहेको श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर