टिका लगाइदिँदै शहिदकी आमा खगिमायाँले विप्लवलाई भनिन्, ‘फेरी धोका नहोस्’

टिका लगाइदिँदै शहिदकी आमा खगिमायाँले विप्लवलाई भनिन्, ‘फेरी धोका नहोस्’

काठमाडौं, २१ फागुन । काठमाडौंको राष्ट्रिय सभामा प्रधानमन्त्री केपी ओलीसँगै संबोधन गर्न नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव महेन्द्र राजमार्ग हुँदै काठमाडौं आउँदै थिए ।


विहान करिब २ बजे उनी पूर्वी नवलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नम्बर १२ गयडी जनवस्तीमा प्रवेश गरे । महेन्द्र राजमार्गबाट ४ किलोमिटर भित्र प्रवेश गरेपछि उनी नवलपलपरासीकै पहिलो शहिद फूलमायाँ शारु ‘कमरेड’ रमाको घरमा प्रवेश गरे ।

‘विहान करिब २ बजे आउनुभएको हो । नवलपरासीको पहिलो शहिद परिवारलाई भेटौँ भन्ने उहाँको मनसाय रहेछ एकछिन रेस्ट गर्ने हिसाबले बिहान ७ बजे चिया पिएर जानु भएको हो,’ शहिद फुलमायाँ शारुका दाई बेल बहादुर शारुले दियोपोस्टसँग भने,‘आज शहिद सप्ताहको अन्तिम दिन पनि भएका कारण उहाँ यहाँ पस्नुभएको हो । प्रथम शहिद परिवार पनि भएको कारण उहाँ आउनु भएको हो । बुवा आमा हामी दाजु भाईसँगै थियौँ ।’


शहिद परिवारसँग भेटका क्रममा विप्लवले शहिदका सपना पुरा गर्न आफू लागि परेको बताएका थिए । ‘मुख्य त शहिदहरुको सपना पुरा गर्न बाँकी नै छ । कुनैपनि ढंगबाट क्रान्ति सम्पन्न गर्ने हिसाबले हामीले यो वार्ता गरेका छौँ । आम नेपाली जनताको आशा र विश्वासलाई कायम राख्दै चाहेको जस्तो व्यवस्था ल्याउन हामी निरन्तर संघर्षमा छौँ,’ विप्लवको भनाई उदृत गर्दै बेल बहादुरले भने ।


शहिद रमाकी ६५ वर्षिय आमा खगिमायाँ शारुले विप्लव समक्ष ‘हाम्रा छोरा छोरीले जुन उद्देश्य लिएर लडेका थिए त्यो उद्देश्य पुरा नभएको बताएकी थिइन् ।

‘आमाले शहिद जुन उद्देश्यका साथ हाम्रा छोराछोरीले लडेको थियो । त्यो अवश्य पुरा गर्नुपर्छ । आम जनताको चाहना पनि हो । हिजो एउटा धोका भयो,’ आमाको भनाई उदृत गर्दै बेल बहादुरले भने,‘आशा र भरोषा गरेका नेताहरुले धोका दियो । त्यस्तो धोका नहोस् । क्रान्ति पुरा गर्ने अभिभारा तिम्रै हो ।’

२०५२ सालदेखि नै तत्कालिन नेकपा माओवादीको पूर्णकालिन कार्यकर्ता बनेकी रमा शहिद हुनुअघि सेक्सन कमाण्डर थिइन् । २०५९ सालमा गुल्मीको वामिटक्सारमा प्रहरी चौकीमाथि आक्रमण गर्ने क्रममा उनको शहादत भएको थियो ।

Trending News