बागलुङ, १८ चैत । यहाँका प्रवेशिका परीक्षा केन्द्रहरु ‘छात्रामैत्री’ बनाइएका छन् । जिल्लाका सबै परीक्षा केन्द्रमा छात्रामैत्री शौचालय, ‘सेनेटरी प्याड’ र प्राथमिक उपचारको व्यवस्था गरिएको छ ।
महिनाबारी भएका र हुनसक्ने छात्राको सहजताका लागि परीक्षा केन्द्रका छात्रा शौचालयमा ‘सेनेटरी प्याड’को व्यवस्था गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई बालमैत्री व्यवहार गर्न, प्राथमिक उपचार र छात्राहरुको लागि ‘सेनेटरी प्याड’को व्यवस्थापन गर्न निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले बताए।
महिला तथा बालबालिका कार्यालय र बालकल्याण समिति बागलुङको सहयोगमा सबै परीक्षा केन्द्रमा ३२ वटाका दरले ‘सेनेटरी प्याड’ पठाइएको छ । कार्यालयले गत वर्षदेखि परीक्षा केन्द्रहरुमा ‘सेनेटरी प्याड’ व्यवस्था गर्न थालेको हो ।
परीक्षा केन्द्रमा ‘सेनेटरी प्याड’ राख्न विभिन्न सामाजिक सङ्घसंस्था र अधिकारकर्मीले माग गर्दै आएका थिए । ‘छात्रामैत्री’ केन्द्र बनेपछि परीक्षामा सम्मिलित छात्राहरुलाई सहजता थपिएको छ ।
बागलुङका तीन परीक्षा केन्द्रमा केन्द्राध्यक्ष पनि महिला तोकिएका छन् । धौलागिरि उमावि रातामाटा केन्द्रमा बिमला गुरुङ, धारा उमावि केन्द्रमा तङ्ग्राममा कमला थापा र जनताधन उमावि केन्द्रको केन्द्राध्यक्षमा नारायणी शर्मा पौडेल छन् ।
यो वर्ष बागलुङबाट सात हजार ६५५ जना विद्यार्थी प्रवेशिका परीक्षामा सहभागी भएका छन् ।