जब प्रचण्डले खतरनाक सुचना पाए….. !

diyopost.com
दियो पोस्ट  सोमबार, फाल्गुण २३, २०७८ | १२:१७:२०

काठमाडौं । गत फागुन फागुन १५ गते आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गरिदियो । ११ बुँदे व्याख्यात्मक घोषणा अर्थात ‘ईन्टरप्रेटेटिभ डिक्लेरेशन’ सहित पारित भएको एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आखिरी समयमा सकारात्मक बने । यसअघि एमसीसी सम्झौता बिना संशोधन पारित गर्न नहुने अडानमा रहेका प्रचण्ड अन्तत एमसीसी पारित गर्ने पक्षमा आखिर कसरी पुगे ।

फागुन १५ गते  आइतबार एमसीसी पारित हुनुअघि शनिबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । त्यो भेटवार्ताले ओली र देउवाबीच सत्ता साझेदारी गर्ने सम्मको सहकार्य प्रस्तावलाई रुप दिँदै थियो । यहाँसम्मकी संघीय सरकारको नेतृत्व प्रधानमन्त्री देउवाले गर्ने र प्रदेश सरकारहरुको नेतृत्व नेकपा एमालेले गर्नेसम्मको प्रस्ताव अघि बढिसकेको थियो । संसदमा दर्ता भएको एमसीसी जस्ताको तस्तै पारित हुने लाइनमा गएपछि प्रचण्ड झस्किएका थिए । आखिर प्रचण्ड वा माधव नेपालले एमसीसीको विपक्षमा मतदान गरेपनि एमसीसी त जस्ताको तस्तै पारित हुन्थ्यो नै ।

त्यसमा ११ बुँदे व्याख्यात्मक घोषणा आउने पनि थिएन । किनेभने प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसी जस्ताको तस्तै पारित गर्ने पक्षमा थिए ।  अध्यक्ष ओलीले त एमसीसीको एउटा अक्षर पनि दायाँ बायाँ गर्न नहुने बताउँदै आएका थिए ।

त्यसैले पनि एमसीसी पारित त हुन्थ्यो नै । प्रचण्ड र माधव नेपालले सडकमा आएर नारा लगाउँदैमा एमसीसी रोकिने त थिएन, दुई चार महिना दुई जना नेता उग्र राष्ट्रवादी नेताको रुपमा भने गनिन सक्थे । तर, संसदबाट जस्ताको तस्तै एमसीसी पारित भएपछि त्यसले निम्त्याउने राजनीतिक द्वन्द भने समाधान हुने थिएन ।

यस्तो स्थितिमा व्याख्यात्मक घोषणा गर्दै एमसीसी नेपालको संविधान ऐन भन्दा माथि नहुने, कुनै पनि शैन्य रणनीतिमा नफस्ने जस्ता महत्वपूर्ण बुँदा संसदबाटै पारित गराउन प्रचण्ड र माधव नेपाल एकहदसम्म सफल भएकै हुन् । तर, यही कारण माओवादी केन्द्र आन्तरिक किचलोमा फसेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी पनि विवादबाट अछूतो रहन सकेको छैन । झलनाथ खनालको नेतृत्वमा संसदबाट पारित भएको एमसीसी सम्झौतामा पार्टीले गढबढी गरेको निष्कर्श निकालिएको छ । यता माओवादीभित्र नारायणकाजी नेतृत्वको टोलीले अध्यक्ष प्रचण्डको मुभ प्रति असन्तुष्टि पोखेका छन् ।

केहीदिन अघिदेखि शुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले लामो ब्रिफिङ गरेका छन् । आफूले कसरी व्याख्यात्मक घोषणा मार्फत एमसीसीको सेटल गरेको भन्ने विषयमा उनले लामो मन्तव्य दिएका थिए ।

 

एमएसीसी जस्ताको तस्तै पारित गर्नेे पक्षमा रहेका नेकपा एमालेका अध्यक्ष ओली देउवा मिलेर शान्तिप्रक्रिया नै ध्वस्त पार्ने षडयन्त्र रचेको सुचना माओवादी अध्यक्ष प्रचण्डले पाएको बताएका थिए । एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले समेत एमसीसी पास नभए संसदमै गएर सभामुख विरुद्ध आन्दोलन गर्ने धम्की दिएको दिएको अभिव्यक्ति समेद दाहालले केन्द्रीय समितिमा दिएका छन् ।
केन्द्री समितिमा प्रचण्डले बताए अनुसार गत फागुन ८ गते विहान गठबन्धनको बैठकमा प्रतिनिधि सभामा एमसीसी टेबल नहुने हो भने आफै बेल गर्न जाने र सभामुख विरुद्ध नाराबाजी गर्ने धम्की देउवाले दिएका थिए । एमालेसँग मिलेर सभामुखको राजिनामा माग्ने समेत प्रधानमन्त्रीको तयारी थियो ।

सदनमा दर्ता भएको एमसीसी असफल बनाउन प्रचण्डले एकीकृत समाजवाद,ि जसपा र एमालेको भिमरावल समुहसँग मिलेर छलफल समेत गरेको बताएका थिए ।

तर, भिम रावल समुहसँग २/४ जना सांसद मात्रै रहेको र एकीकृत समाजवादीमा १४ जना सांसद, जसपा भित्र दुई तिहाई नै एमसीसीको पक्षमा देखिएको दाहालले ब्रिफिङ गरेका थिए । आन्तरिक रुपमै असफल हुने भएपछि आफ्नो रणनीति परिवर्तन गरेर संसदबाट व्याख्यात्मक घोषणा गर्न बाध्य भएको दाहालले बताएका छन् ।

त्यति मात्रै होइन एमाले अध्यक्ष ओली र प्रधानमन्त्री मिलेर माओवादी केन्द्रका नेताहरुलाई वैदेशिक भ्रमणमा रोक लगाउने, आफूनिकट व्यावसायीलाई सम्पत्ति सुद्धिकरणमा तानेर कारबाही गर्ने सुचि समेत तयार भएको सुचना उनले पाएका थिए । शान्तिप्रक्रियालाई समेत डिरेल गर्ने सुचना पाएपछि दाहाल पछि हटेको केन्द्रीय समितिको बैठकलाई उनले सुचना दिएका छन् ।

एमसीसी पारित गर्न एमाले र कांग्रेसको गठबन्धन बनेपछि प्रदेश १, लुम्बीनि र गण्डकी सरकार एमालेलाई दिने चलखेल समेत भएको सुचना प्रचण्डले पाएका थिए ।

सम्बन्धित खबर