योग्यता नपुगेका उमेश थानी आयल निगमको कार्यकारी निर्देशक नियुक्त

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण २७, २०७८ | १०:१७:४३

काठमाडौँ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा योग्यता नपुगेका व्यक्तिलाई नियुक्त गरेको छ । सर्वोच्च अदालतले गरेको योग्यतासम्बन्धी फैसलाविपरीत सरकारले निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुधबार तीन जनाको नाम सिफारिस गर्न लगाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नियुक्त गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो । थानीको योग्यता नपुगेको विषयमा विभिन्न संचार माध्यममा उनको अनुभव पत्र सहित समाचार सार्वजनिक भएको थियो । दियोपोस्टले उनको अनुभव पत्रमाथि प्रश्न गर्दै समाचार सार्वजनिकगरेको थियो ।

त्यसो त सर्वोच्च आदेश अनुसार पनि थानी अयोग्य हुन् । गत भदौ २४ मा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले दिएको आदेशको पूर्णपाठमा ‘कुनै पनि सरकारी÷सार्वजनिक निकायमा पदाधिकारी वा विज्ञ सदस्य नियुक्ति गर्दा सम्बन्धित विषयमा स्नातक तहको शैक्षिक योग्यता भएको र कम्तिमा १० वर्षका अनुभव भएको मापदण्ड लागू गर्न’ भन्ने उल्लेख गरिएको छ ।

 

कार्यकारी निर्देशक छनोट गर्न तयार पारिएको ‘सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यहरुको नियुक्ती र मनोनयनसम्बन्धी निर्देशिका–२०७८’ को व्यवस्था अनुसार पनि थानिको योग्यता सम्बन्धी प्रश्न उठेको थियो । निर्देशिकाको दफा ३ अनुसार व्यवस्थापकीय जिम्मेवारीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ । यो व्यवस्थाका बाबजुत कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले काम नथाल्दै प्रधानमन्त्री शेरबहादुर देउवा सचिवालयका अधिकारीहरुको माग भन्दै मुख्य सचिव शंकरदास बैरागीले थानीको नाम अनिवार्य सिफारिस गर्न दबाब दिएका थिए । थानीको योग्यता नपुगेको विषयमा प्रश्न गरेपछि तत्कालिन सचिव दिनेश भट्टराईको सरुवा समेत भएको थियो ।
रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना निकाल्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो । उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

 

 

सम्बन्धित खबर