नियमाअनुसार चल्ने नेपालको पहिलो कार्यालय अख्तियार हो : आयुक्त जय बहादुर चन्द

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण २७, २०७८ | १४:१३:०७

बर्दिबास : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दले समाजको विकृति विसंगति विरुद्ध लड्नुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले महोत्तरीको जलेश्वरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रममा बोल्दै आयुक्त चन्दले मानवले मावोचित कार्यमा सरिक नभएका कारण समाजमा भ्रष्टाचार, विकृति र विसंगती फस्टाएको दाबी गरे ।

‘हामीले समाजमा खराब आचरण भएका व्यक्तिलाई खराब र असल आचरण भएका व्यक्तिलाई राम्रो नभनेसम्म यस्ता विकृति भइरहन्छ,’ चन्दले भने,‘भ्रष्टाचार विरुद्ध परेको उजुरी छानबीनमा सहयोग नगर्ने परिपाटीको अन्त्य हुनुपर्छ ।’
आयुक्त चन्दले जनप्रतिनिधिलाई भ्रष्टाचार नगर्न र जनताको हितमा काम गर्न समेत आग्रह गरे ।

सरकारी कर्मचारीमा समयमा कार्यालय नजाने, काम नगर्ने शिक्षकहरु आफ्नै छोरा छोरी पढ्ने विद्यालयको रकम भ्रटाचार गर्न अग्रसर हुने जस्ता तमाम विकृति रहेको समेत आयुक्त चन्दले औँल्याए । यस्ता विकृति रोक्न अख्तियार अग्रसर रहेको उनको प्रतिवद्धता छ । अख्तियारको उपस्थितिका कारण भ्रष्टाचारमा ५० प्रतिशत कमि आएको बताउँदै उनले अख्तियार मात्रै नेपालमा नियमानुसार चल्ने पहिलो कार्यालय भएको दाबी समेत गरे ।

सम्बन्धित खबर