आयल निगम डुबाउने खेल, योग्यता नै नपुगेका उमेश थानी कार्यकारी निर्देशक नियुक्त (सर्टिफिकेटसहित)

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण २७, २०७८ | १५:५१:०३

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका उमेश थानीको योग्यतालाई लिएर शुरु देखि नै प्रश्न उठेको थियो । तर, सरकारले योग्यता नै नपुगेका थानीलाई विहिबार निगमको कार्यकारी निर्देशक नियुक्त गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयल तोकेको निर्देशिका अनुसार थानी अयोग्य रहेको कागजात यसअघि नै दियोपोस्ट डटकमले सार्वजनिक गरेको थियो ।

थानीलाई नियुक्त गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती र मनोनयन सम्बन्धी निर्देशिका, २०७७’ लाई सुटुक्क संशोधन गरेर ‘२०७८’ जारी गरिएको थियो ।

मन्त्रालयले गत पुस २५ गते आह्वान गरेको खुला प्रतिष्पर्धाको सुचनामा सोही निर्देशिकाको दफा ३ ख अनुसार योग्यता पुगेका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

 

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती र मनोनयन सम्बन्धी निर्देशिका, २०७७ को दफा ३ खमा ‘कार्यकारी प्रमुखको लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्व विद्यालयबाट कम्तिमा स्नातकोत्तर उत्तिर्ण गरेको र कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा ५ वर्षको कार्यअनुभव हासिल गरेको’ भन्ने उल्लेख गरिएको छ । हालै जारि गरिएको यो निर्देशिकामा थानीकै नियुक्तीका लागि इन्जिनियरिङ शब्द घुसाइएको थियो । तर, यही व्यवस्थामा भनिएको ५ वर्षे कार्याअनुभव भने थानीसँग अनुभव छैन ।

उनले आवेदनका क्रममा दिएको शैक्षिक प्रमाण पत्र र अनुभव पत्रले नै उनी अयोग्य रहेको पुष्टि गर्दछ । व्यवस्थापकिय नेतृत्वमा बसेको उनीसँग कुनै अनुभव नै नभएपछि देउवा सरकारले निगमको कार्यकारी निर्देशकमा उनलाई नियुक्ती गरेको हो ।
थानीले आफ्नो अयोग्य अनुभव पत्रकै आधारमा आफ्नो नियुक्ती ग्यारेन्टी रहेको बताउँदै आएका थिए ।

यस्तो छ थानीको योग्यता प्रमाण पत्र

 

दियोपोस्टले फेला पारेको उनको अनुभव प्रमाण पत्र अनुसार मन्त्रालयले नै जारी गरेको पदपुर्ति सम्बन्धी निर्देशिका अनुसार पुग्दैन । उनले पेश गरेको कागजात अनुसार उनले २०५१ सालमा एसएलसी उत्तिर्ण गरेको देखिन्छ । थानीले पेस गरेको कार्य अनुभवअनुसार उनले २०६१ कात्तिकदेखि २०६२ असारसम्म जिल्ला शिक्षा कार्यालय हुम्लामा इन्जिनियर भएर करारमा काम गरेको देखिन्छ ।

 

 

२०६५ वैशाख ९ मा सेभ द चिल्ड्रेनमा एक वर्ष इन्जिनियर, २०६७ वैशाख २९ देखि २०६८ असोज ३० सम्म ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरडीपी) का लागि स्वीकृत इन्जिनियर भएर काम गरेको विवरण पनि थानीले पेस गरेको देखिन्छ ।

२०७० जेठ १३ मा नेपाल इन्जिनियरिङ परिषद्को सदस्य सचिवको हैसियतमा ४ वर्षका लागि रजिस्ट्रार र २०७३ मा भदौमा नेपाल इन्जिनियर्स एसोसिएसनको महासचिवसमेत भएको उनले उल्लेख गरेका छन्  । २०७३ मंसिर ३० मा चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्ति पाएका थानीले २०७६ कात्तिक ३ मा राजीनामा दिएका थिए । उनले कामको व्यवस्थता भएका कारण राजिनामा दिएको उल्लेख गरेका छन् । २०७६ जेठ १३ मा एभरेस्ट इन्जिनियरिङ कलेजको प्राचार्य भएर दुई वर्ष काम गरेका थानी अहिले सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालमा अध्यक्ष छन् । यो कांग्रेस निकट संस्था हो । यही योग्यतालाई मन्त्रालयले जारी गरेको निर्देशिकाको उल्लेखित दफाले स्विकार गर्न नसक्नुपर्ने हो ।

 

 

थानीले पेश गरेको कार्याअनुभवमा इन्जिनियर परिषदको सदस्य सचिव भएर काम गरिसकेको उल्लेख छ । तर, यो अनुभव आफैमा व्यवस्थापकीय कार्यकारी भएर बसेको अनुभव होइन । यहाँ पनि उनी जम्मा ४ वर्ष मात्रै बसेका छन् । जबकी निर्देशिकाले ५ वर्ष भनेरै किटान गरेको छ ।

सर्वोच्च अदालतको फैसलाको ठाडो उलंघन !

सर्वोच्च अदालतले सार्वजनिक संस्थानहरुको कार्यकारी नेतृत्वमा नियुक्ती गर्दा १० वर्षे अनुभव हुनुपर्ने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त ईजलाशले सरकारी निकाय तथा सार्वजनिक संस्थानको अध्यक्ष तथा कार्यकारी पदको नियुक्तीमा १० वर्षे अनुभव हुनुपर्ने परमादेश दिएको हो । तर, परमादेश विपरित निगमको कार्यकारी निर्देशकमा भने योग्यता नै नभएका थानीलाई नियुक्ती दिएको छ । अदालतको फैसला विपरित कसैलाई नियुक्ती दिए पुन अदालतमा मुद्दा हाल्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताएका थिए । तर, थानीको नियुक्तीपछि बानियाँले के गर्छन् त्यो भने हेर्न बाँकी नै छ । यदि सर्वोच्च अदालतमा मुद्दा परे थानीको नियुक्ती नै बदर हुनसक्छ ।

सम्बन्धित खबर