प्रवासी नेपालीको पीडा : ‘हाम्रो त नोट चल्छ, भोट चल्दैन’

दियो पोस्ट  

 

नयाँ दिल्ली । आसन्न स्थानीय निकायको चनावमा प्रवासमा बस्ने नेपालीहरुले भोट हाल्न पाउनु पर्ने माग गरेका छन् । अखिल भारत नेपाली एकता मञ्चको भारतस्थित मध्यप्रदेशको भोपालमा आयोजित दोस्रो बैठकका सहभागीहरुले आफुले पनि भोट हाल्न पाउनु पर्ने माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै मञ्चका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारीले नेपलमा परिवर्तन ल्याउन प्रवासी नेपालीहरुको लामो त्याग र योगदान रहेको बताए । ‘संघीयता र गणतन्त्र ल्याउन भारतमा बस्ने नेपालीहरुले निकै ठुलो मेहनत गरेका छन् । तर, प्रवासी नेपालीहरुले लोकतन्त्रको आभाष गर्न पाएका छैनन् । प्रवासी नेपालीको नोट चलेपनि भोट चलेको छैन,’ उनले भने ।

प्रवासी नेपालीहरु भोट हाल्ने अधिकारबाट बञ्चित भएको औँल्याउदै उनले यसका लागि राजनैतिक दलमाथि दबाब बढाउनुपर्ने बताए । ’प्रवासी नेपालीलाई राज्यको संरचना बनाउन कहीं कतै भूमिका दिइएको छैन’, उनले भने,‘५६ प्रतिशत घरधुरीमा रेमिट्यान्स पठाउने प्रवासी कामदारको मताधिकार कहाँ छ भनेर खोज्न ढिला भइसक्यो ।’

जुनसुकै देशमा भए पनि नेपालीको आफ्नै पहिचान हुने र उनीहरुलाई मताधिकार दिइनु पर्ने उनको तर्क छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले संविधान कुनै दल र नेताहरूको मात्रै हितमा नरहेको बताए । उनले भने, ’संबिधान सधै देश र जनताका लागि हुने गर्छ ।’ उनले पार्टीको जित सुनिश्चित गराउन निर्वाचनमा प्रवासमा बस्ने नेपालीहरुलाई स्वदेशमै आएर प्रचार प्रसार अभियानमा लाग्न आग्रह गरे ।

 

कार्यक्रममा आफ्नो बिचार राख्दै प्रवाश समन्वय समितिका सचिब टीबी पाठकले संगठन बदियो नभएको खण्डमा सही राजनीति र सही विचार जनतामा जान नसक्ने बताए । उनले देशका सबै उपलब्धिहरू माओवादीका कारण प्राप्त भएको भन्दै समाजवादी यात्राको कोर्सबाट आफूहरु भाग्न नहुने तर्क गरे ।

 

सर्वोच्च अदालतले २०७४ सालमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन आदेश दिएको थियो । तर उक्त आदेशको अहिलेसम्म पालना भएको छैन । बिगत ४३ वर्षदेखि भारतमा अखिल भारत नेपाली एकता मञ्च नामक संगठन विस्तार गरि लाखौं प्रवासी नेपालीहरुको हितमा काम गर्दै आएको मञ्चका उपमहासचिव आरबी खड्काले जानकारी दिए ।