ईच्छाराजको जग्गामा एनआईसी एशिया बैंकको गिद्दे’ नजर, अदालतले रोक्का राखेको जग्गा लिलामीको सुचना !

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र ०१, २०७८ | २२:३९:५६

काठमाडौं । सिभिल समुहका अध्यक्ष ईच्छाराज तामाङ यतिबेला पुर्पक्षका लागि जेलमा छन् । उनले सिभिल सहकारीका पीडितहरुको ८ अर्बभन्दा बढी रकम ठगी गरेको आरोप छ । तर, तामाङले जोडेको अर्बौंको सम्पत्तिमा बैंकहरुले आँखा लगाउन थालेका छन् । ईच्छाराजको सम्पत्तिमा आँखा लगाउने पहिलो बैंक बनेको छ–एनआईसी एशिाय बैंक ।

एनआईसी एशिया बैंकले तामाङ अर्बौं सम्पत्ति लिलाम गर्ने उद्देश्यले १५ दिने सुचना निकालेको छ । बैंकले एक दैनिक पत्रिकामा सुचना निकाल्दै तामाङ र उनको मामा ससुरा केशवलाल श्रेष्ठको तस्विर छापेको छ । बैंकले १५ दिन भित्र सिभिल समुहको नाममा रहेको चल अचल सम्पत्ति लिलामी विक्री गर्ने चेतावनी दिएका छन् । तर, धितो लिलामीअघि बैंकले कर्जा तिर्न आउँनका लागि ऋणीलाई अल्टिमेटम दिएको सुचनाको मिति उल्लेख गरेको छैन ।

काठमाडौंको कलंकी मालोपोत कार्यालयमा दर्ता कायम रहेको वडा नम्बर १३ स्थित कित्ता नम्बर १७२ मा रहेको ७३९ र कित्ता नम्बर ९२ को २ सय ५७ वर्गमिटर जग्गा तथा भविष्यमा चर्चिने सम्पूर्ण लिगलगापात समेत लिलामी गर्ने सुचना बैंकले सुचना निकालेको छ । त्यस्तै सिभिल समुहको स्वामित्व रहेको सम्पूर्ण सामग्री समेत लिलामीमा परेको छ ।

 

प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले तामाङसहित सिभिल बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पक्राउ गरि मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंले सिभिल समुहका अध्यक्ष तामाङको स्वामित्वमा रहेको सम्पूर्ण सम्पत्ति रोक्का गरेर राखेको छ । तर, रोक्का रहेकै सम्पत्ति बैंकले लिलामी गर्ने सुचना निकालेको हो ।

‘हामी बचतकर्ताहरुको उजुरीका आधारमा तामाङ र श्रेष्ठसहित १२ जनालाई पक्राउ गरेको हो । हाम्रो सम्पत्ति फिर्ता नभएसम्म बैंकले लिलामी गर्न पाउँदैन,’ एक ऋणीले दियोपोस्टसँग भने,‘ती सबै बैंकिङ र गैर बैंकिङ सम्पत्ति सिभिल सहकारीकाो पैसाबाट किनिएको हो । बैंकले ईच्छाराजको होइन हामी बचतकर्ताहरुको सम्पत्तिमा गिद्दे नजर लगाएको भान भएको छ ।’

यसअघि ओरेन्टल सहकारीबाट पीडित भएकाहरुको उजुरीको आधारमा पक्राउ परेका सुधिर बस्नेतको अर्बौंको सम्पत्ति पनि एआईसी एशियाले हत्याएको थियो । यतिबेला उक्त जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । एनआईसीले ईच्छाराजको सम्पत्ति पनि त्यसै गरि हत्याउने प्रपञ्च रचेको आरोप छ ।

सम्बन्धित खबर