पूर्व एसएसपी विक्रम थापाद्वारा प्रहरी कर्मचारीको दुरुपयोग : ५ वर्षदेखि हवल्दार चालक !

diyopost.com
दियो पोस्ट  आइतबार, चैत्र ०६, २०७८ | १५:५६:११

काठमाडौं । सरकारले यसअघि विशिष्ट व्यक्तिहरुको सुरक्षामा रहेका प्रहरी कर्मचारी तथा सशस्त्र प्रहरी कर्मचारी व्यापक कटौती गर्यो । विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्यविधि नै बनाएर कसलाई कुन तहको सुरक्षा दिने भन्ने निर्णय गर्ने अधिकार गृह प्रशासनको छ ।

गृह प्रशासनकै सिफारिसमा यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएको अगुवा गाडी नै खोसियो । माधव नेपाल र झलनाथ खनालको सुरक्षामा रहेका सुरक्षाकर्मी पनि फिर्ता भएका थिए ।

यद्धपी यसरी सुरक्षाकर्मी कटौती गर्दा तत्कालि केपी ओली सरकारले प्रतिशोध लिएको आरोप भने नलागेको होइन । तर, सुरक्षाकर्मी पाउने कुनै मापदण्डमा नपर्ने नेपाल प्रहरीका एक जना पूर्व एसएसपीले भने विगत ५ वर्षदेखि सुरक्षाकर्मी दुरुपयोग गर्दा पनि कसैको ध्यान पुगेको छैन ।

नेपाल प्रहरीको बरिष्ठ उपरिक्षक (एसएसपी)बाट अवकाश प्राप्त विक्रम सिंह थापाले प्रहरी कर्मचारी कर्मचारीको चरम दुरुपयोग गरेको खुलेको हो । २०७३ मंसिरमा प्रहरी सेवाबाट अवकास पाएका सिंहले अवकासकै दिनदेखि नेपाल प्रहरीका एक जना हवल्दारलाई आफ्नो चालकको रुपमा राखेको पाइएको हो ।

‘उहाँले झ्याडी थर भएका एक जना हवल्दारलाई ५ वर्षदेखि अवैध रुपमा चालकको रुपमा राख्नु भएको छ,’ उनी निकट स्रोतले भन्यो,‘अवकाश भएपछि एसएसपी तहका कर्मचारीले यसरी चालकसहित प्रहरीको सुविधा पाउँदैनन् । तर, उहाँलाई कसरी दिइएको छ हामी नै अचम्म छौँ ।’

गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारा घर भएका उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् ।
उनी महाधिवेशन प्रतिनिधि भने बाणगंगा नगरपालिका वडा नम्बर ६ बाट भएका हुन् । प्रहरी सेवाबाट अवकास पाएपछि थापाले नेपाल तारा डटकम नामक अनलाइन समेत सञ्चालन गर्दै आएका छन् ।

थापाको चालक रहेका प्रहरी हवल्दारलाई सम्पर्क गर्दा उनी पूर्व एसएसपी थापासँगै रहेको जानकरी दिए । ‘म उहाँसँगै छु । हामी अहिले काठमाडौंमै छौँ,’ उनले भने,‘केही छ भने म फोन दिन सक्छु ।’

यता नेपाल प्रहरीका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी विष्णु कुमार केसीलाई यस विषयमा जिज्ञासा राख्दा आश्चर्यमा परे । ‘अहिलेसम्म पनि चालक फिर्ता गर्नु भएको छैन र,’ केसीले भने,‘ल म बुझेर तपाईंलाई खबर गर्छु ।’ तर, उनले हालसम्म बुझेर कुनै खबर भने गरेका छैनन् ।

थापा भन्छन्,‘होइन होइन, कहिले काँही हो’

हवल्दार चालक दुरुपयोगको विषयमा प्रतिक्रिया लिन थापालाई सम्पर्क गर्दा उनले त्यस्तो नभएको बताए । यद्धपी कहिले काँही मात्रै सहयोग गरेको उनको दाबी छ । उनले आफूले पनि एक अनलाइन ‘नेपाल तारा’ संचालन गरेको बताए । तपाईंले त नेपाल प्रहरीको हवल्दार विगत ५ वर्षदेखि दुरुपयोग गर्नु भएको रहेछ नी भन्ने दियोपोस्टको प्रश्नमा थापाको जवाफ थियो,‘होइन होइन, कहिले काँही हो । मेरो पनि अनलाइन छ नेपाल तारा डटकम । म तपाईंलाई फोन गरौँला नी ।’

सम्बन्धित खबर