काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको निम्तोका आधारमा देउवा राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् । स्रोतका अनुसार आगामी चैत्र १८ गतेदेखि २० गतेसम्म उनी भारत भ्रमणमा जाने तयारीमा छन् । शुक्रबार नेपाल भ्रमणमा आउन लागेका चीनियाँ विदेश मन्त्री वाङ यीसँगको भेट लगत्तै देउवा भारत प्रस्थान गर्न लागेका हुन् ।
विशेष स्रोतका अनुसार देउवा अगामी चैत्र १८ गते नै भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न पुग्ने छन् । त्यस्तै चैत्र १९ गते उनले भारतीय राजनीतिज्ञसँग भेटघाट गर्ने कार्यक्रम छ । २० गते भने देउवा आफ्नो टोलीसहित नेपाल फर्कनेछन् ।
यद्धपी भारतीय प्रधानमन्त्री अत्यन्तै व्यस्त हुने समयमा नेपालका प्रधानमन्त्री देउवा भारत जान लागेको भारतीय संचार माध्यमको दाबी छ । स्रोतका अनुसार इजरायलका प्रधानमन्त्री नाफली बेन्नेट पनि चैत्र २० मै भारत भ्रमणमा आउँदै छन् ।
गत असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाको भारतका लागि यो नै पहिलो राजकीय भ्रमण हुनेछ ।