चुनावमा जाने राजनीतिक प्रस्ताव फेल भएपछि विप्लवको राजिनामा माग !

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र १२, २०७८ | १८:५१:००

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक जारी छ । महासचिव चन्दले आगामी निर्वाचनमा सहभागी हुनुपर्ने राजनीतिक प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावको विपक्षमा बहुमत सदस्यले आफ्नो धारणा राखेका छन् । केन्द्रीय समिति बैठकमै अल्पमतमा परेका उनको राजिनामा माग हुन थालेको छ ।

‘आफ्नो राजनीतिक प्रस्ताव पारित नभएपछि नैतिकताको आधारमा राजिनामा दिने हो । केन्द्रीय सदस्यलाई भुलाएर गहुँ काट्न लगाउने होइन,’ एक केन्द्रीय सदस्यले भने,‘उहाँको राजनीतिक प्रस्ताव पूर्ण त विफल भइसक्यो ।’
कपिलवस्तुको शिवराज नगरपालिकास्थित अञ्चलपुरस्थित निर्माणाधीन पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा जारी १२ औं पूर्ण बैठकमा पार्टीले जनताको भावना बुझ्न स्थानीय निर्वाचनमा भाग लिनुपर्ने भन्दै महासचिव चन्दले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

शुक्रबारदेखि जारी बैठकमा केन्द्रीय सदस्य, स्थायी कमिटी र केन्द्रीय सल्लाहकारले धारणा राख्ने क्रम बिहीबार नै सकिएको थियो । अधिकांशले चन्दको प्रस्तावको विपक्षमा धारणा राखेका थिए । ७ दिनमा ६८ केन्द्रीय सदस्य, ४ जना स्थायी कमिटी र ४ जना सल्लाहकारले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । पहिलो चरणमा स्थायी समिति सदस्यले धारणा राखेका थिए । स्थायी समिति सदस्यहरु सदस्य सन्तोष बुढामगर र खड्गबहादुर विश्वकर्माले निर्वाचनमा सहभागी हुनुपर्ने चन्दको प्रस्तावमा समर्थन जनाएपनि स्थायी कमिटी सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलाले भने बहिस्कार गर्नुपर्ने धारणा राखेका थिए ।
अधिकांश केन्द्रीय सदस्यले चन्दको राजनीतिक प्रस्तावको विपक्षमा धारणा राखेका हुन् । यसरी धारणा राख्नेमा ४० जना दिए । अहिलेको अवस्थामा निर्वाचनमा गए क्रान्ति र जनताप्रति धोका हुने उनीहरुको राय छ । चन्दको पक्षमा २८ जना केन्द्रीय सदस्य मात्रै रहेको जनाइएको छ ।

सल्लाहाकारहरु चित्रबहादुर आले, असारे काका र दिर्घ पाण्डेले पनि निर्वाचनमा जान नहुने भन्दै चन्दको राजनीतिक प्रस्तावको चर्को विरोध गरेका थिए । छलफलमा आएका विषयमाथि जवाफ दिनुको सट्टा चन्दले केन्द्रीय सदस्यलाई गहुँ काट्न लगाएको आरोप छ ।

 

सम्बन्धित खबर