युवराज पहाडी
काठमाडौं । करोडौं राजश्व छली गरेको सुचनाका आधारमा राजश्व अनुसन्धान विभागले छापा मारेपछि नेपाल इन्भेष्टमेट बैंकका सिइओ र अध्यक्ष दौडधुपमा लागेका छन् । राजश्वका उच्च अधिकारीलाई दबाव दिलाउनका लागि बैंकका सिइओ ज्योति प्रकाश पाण्डे र अध्यक्ष पृथ्वीबहादुर पाण्डेको अस्वभाविक दौडधुप बढेको छ ।
केहीदिन अघि विभागको टोलीले बैंकको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
केही वर्षअघि बैंकले जारी गरेको एफपिओमा अर्बौं राजश्व छली गरेको पाइएपछि विभागले छापा मारेको हो । बैंक स्रोतका अनुसार केही वर्ष अघि बैंकले सेयरको नयाँ निष्काशन (एफपिओ) जारी गरेको थियो । सोही आइपिओमा ठूलो घोटाला भएको आरोप छ ।
बैंकले १०० रुपैयाँ अंकित दरको शेयरमा ५०१ रुपैयाँ प्रिमियम जोडेर ६०१ प्रति कित्ता सेयर जारी गरेको थियो । त्यतिबेला बैंकले ९० लाख ६९ हजार ३८८ कित्ता सेयर जारी गरेको थियो ।
राजश्वका उच्च अधिकारीलाई राजनीतिक तह सहित विभिन्न शक्ति केन्द्रबाट दबाब दिलाउन अध्यक्ष पाण्डे र सिइओ पाण्डे लागि परेका छन् । पाण्डेद्वयले विभिन्न राजनीतिक दलका नेता मार्फत दबाव दिइरहेको स्रोतले जनाएको छ । उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारका केही अधिकारीलाई समेत परिचालन गरेको आरोप छ ।