काठमाडौं । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए ।
जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको पाण्डेको भनाइ छ ।
२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए। तनहुँको सिफारिसमा २०७५ पुस २४ गते कारबाही गरेको थियो। यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा चितवन–४ बाट तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि विकास कोइरालामाथि कारबाही भएको थियो । अब उनीमाथिको कारबाही फुकुवा भएको छ । यस्तै २०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूको हकमा उपनिर्वाचनमा गर्ने गतिविधि अनुसार निर्णय लिने सहमहामन्त्री पाण्डेले बताए ।