विराटनगर । धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै मेयर हर्क साम्पाङ नेतृत्वको टोली बालुवाटार पुगेको छ । उनी धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेका भेटिन्छन् ।
कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि धरान उपमहानगरपालिकातर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मेयर साम्पाङले ज्ञापन पत्र बुझाएका छन् । मेयरसँगै उपमेयर आइन्द्रविक्रम बेघाले पनि प्रधानमन्त्रीलाई भेटेका छन् ।
मेयर हर्क साम्पाङसहितको टोलीले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिदिन प्रधानमन्त्रीसँग आग्रह गरे ।
उपमहानगरले प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा धरानको खानेपानीका लागि अनेक प्रयास भएपनि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी ल्याउनुपर्ने आवश्यकता उल्लेख गरिएको छ । उक्त योजनाका लागि खानेपानी मन्त्रालयले डीपीआरसमेत तयार पारेकाले बजेट विनियोजन गर्न माग गरिएको छ ।