कांग्रेसका कर्णाली प्रदेश सहमहामन्त्री थापासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दियो पोस्ट  

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशकसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
त्यस्तै अख्तियारले नमुना समाज, सुर्खेतलाई पनि प्रतिवादी बनाएको छ। उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ।

मुद्दा दायर भएकामध्ये पञ्चपुरीका तत्कालीन नगरप्रमुख थापा हाल कर्णाली प्रदेश कांग्रेस सहमहामन्त्रीसमेत हुन्। अख्तियारले भेरीगंगा नगरपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाको कृषि र पशु शाखाबाट सम्पादन हुँदै आएका कामहरुको डुप्लिकेसन गरी भ्रष्टाचार गरेको आरोपपत्रमा दाबी गरेको छ।

नमुना समाज, सुर्खेतले पञ्चपुरी नगरपालिका समेतबाट प्राप्त रकम आफ्नो लगानीको कुनै स्रोत नदेखाई तथा कामै नगरी भुक्तानी लिएको देखिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गर्दै रकम भुक्तानी गरेको थियो। उक्त भुक्तानी गर्दा भ्रष्टाचारजन्य कार्य हुन गएको र उक्त कार्यमा संलग्नहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार विगो,जरिवाना र कैदको सजाय माग गरिएको छ।