चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै ४ उजुरी

दियो पोस्ट  

चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारीका विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा चार वटा उजुरी दर्ता भएका छन्।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यकाअनुसार तीन उजुरी उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दिएका हुन्। एउटा उजुरी इमेलमार्फत् प्राप्त भएको उनले बताए।

सिन्धुली घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने युवराज पौडेल(सफल)ले इमेलमार्फत् उजुरी पठाएको आचार्यले बताए।

उनले उजुरीमा विदेशको नागरिकता त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यथित नभई निर्वाचनमा उम्मेदवार हुन नमिल्ने उल्लेख गरेका छन्।

लामिछानेले गत माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनःप्राप्ति गरेका थिए।

उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको कुरा अमेरिकी सरकार वा अमेरिकी राजदूतावासले प्रामाणित गरेको निस्सा पेस नगरी नेपाली नागरिकता लिने र दिने कार्य भएको दाबी गरेका छन्।