ढाका कुमार श्रेष्ठ २ करोड काण्डमा निलम्बनमा परेपछि रास्वपाले कसलाई बनाउँदैछ सांसद ?

दियो पोस्ट  

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाइँसँग साढे २ करोड रुपैयाँ चन्दा मागेको अभियोगमा निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद ढाका कुमार श्रेष्ठलाई थप कारबाहीको तयारी भएको छ ।
भोली चितवनमा हुने पार्टीको केन्द्रीय समितिको बैठकले थप कारबाही अघि बढाउने रास्वपा स्रोतले जनाएको छ । स्रोतका अनुसार भोली नै पार्टी केन्द्रीय समितिले निलम्बित सांसद श्रेष्ठ पछि रिक्त रहेको पदमा अर्का व्यक्तिलाई नियुक्त गर्ने तयारी समेत गरिएको छ ।

उच्च स्रोतका अनुसाार रिक्त रहेको पदमा पार्टीले विन्दावासिनी कंसाकारलाई नियुक्त गर्ने तयारी गरेको छ । गत प्रतिनिधि सभा निर्वाचनमा उनी मकवानपुर क्षेत्र नम्बर २ बाट समानुपातिक उम्मेदवार समेत बनेकी थिइन् ।
एक अनलाइन मिडियाले निलम्बित सांसद श्रेष्ठ र प्रसाइँबीचको घुस संवाद सार्वजनिक गरेको थियो । अडियो सार्वजनिक भएपछि श्रेष्ठ निलम्बनमा परेका थिए । पार्टी सभापति रवि लामिछानेले ७२ घण्टा भित्र श्रेष्ठमाथि छानबीन गरेर कारबाही गर्ने घोषणा गरेका थिए ।