काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा थप एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्देश शर्मा छन्।
उनलाई कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।
नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानबाट खुलेको छ ।
यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो।
उनीहरूले विभिन्न व्यक्तिहरूबाट ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ। गिरोहले यसरी करोडौं रकम उठाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गरेको उजुरी परेपछि कार्यालयले अनुसन्धान अघि बढाएको थियो।
यसको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको छ।