झूटको श्रङ्खलाबीच ढाका कुमारको स्विकार : जनवरीको अडियो किन अहिले हालियो ?

दियो पोस्ट  

काठमाडौं । केहीदिन अघि मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड रुपैयाँ घुुस मागेपछि निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले फेरी बोली फेरेका छन् ।
गत चैत्र २६ गते उनले प्रसाइँसँग २ करोड रुपैयाँ मागेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । अडियो रेकर्ड सार्वजनिक भएसँगै विज्ञप्ति निकालेरै श्रेष्ठले उक्त अडियो आफ्नो नभएको र सम्पादन गरिएको आरोप लगाएका थिए । यद्धपी रास्वपाले उनलाई कारबाही स्वरुप निलम्बन गरेको थियो । निलम्बनमा परेका श्रेष्ठले पोखरास्थित पब्लिक फोरके टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पनि उक्त अडियो आफ्नो नभएको उनको जिकिर थियो ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ५ मिनेट लामो पत्रकार सम्मेलनका क्रममा ढाका कुमारले आफ्नो भनाईलाई फेरी परिवर्तन गरेका छन् ।

उनले गत जनवरीमा भएको अडियो अहिले सार्वजनिक गरिएको भन्दै घुमाउरो तरिकाले आफूले घुस मागेको स्विकार गरेका छन् ।

संचारकर्मीको प्रश्नको जवाफै नदिई भागेका उनले ५ मिनेटमा आफ्नो कुरा मात्रै राखेका थिए । ‘यो अडियो केही पनि होइन, यो फसाइएको हो । गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले आएर हाल्नु भनेको पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीन वटै क्षेत्रमा हराउने सुनियोजित हो,’ उनले भने ।

उनले भनेका थिए,‘ मसँग जोडिएको अडियो भाइरल भइरहेको छ । त्यसले गर्दा पार्टी र अहिलेको उपनिर्वाचन र म आफ्नै मान प्रतिष्ठालाई घात परेकाले क्षमाप्रार्थी छु ।
अडियो अहिले जसले जहाँ पनि बनाउन सकिन्छ, इडिटिङ गर्न सकिन्छ । मैले अहिले बोलेको स्वरलाई अर्को तरिकाले मोडेर, इडिटिङ गराएर बाहिर ल्याउन सकिन्छ । त्यो अडियो अथेन्टिक होइन, ह्वाट्सएपमा कुराकानी गरेको भनिएको छ, मेरो कुरा कहाँ कहाँबाट जोडेर मिडियामा आएको छ । यसप्रति म खेद प्रकट गर्न चाहन्छु ।

म हाम्रो पार्टीबाट निलिम्बत भएको छु, म पार्टीबाट बाहिर निस्क्सिकेको छु । पार्टीले मलाई अनुसन्धान गर्न सुरु गरेको निलम्बनको प्रक्रियालाई स्वागतयोग्य ठानेको छु । म हिजोबाट नै न्यायालय गइसकेको छु । तपाईंहरु निश्चिन्त हुनुहोला मेरा शुभचिन्तक महानुभावहरु म न्यायलय गएर मेरा सम्पूर्ण कुराहरु न्यायालयमा प्रष्ट पारेर क्लिनचिट लिएर तपाईहरुमाझ प्रेस मिट गर्नेछु, धैर्यधारण गर्नुहोला ।

मेरो कारणले पार्टीलाई उपनिर्वाचनमा अप्ठेरो परेको छ । त्यसका लागि क्षमाप्रार्थी छ । सम्पूर्ण आमाबुबा दाजुभाइले उपनिर्वाचनमा ३ क्षेत्रलाई प्रत्यक्ष रुपले‘यो अडियोलाई ध्यानमा नराखीकन, यो अडियो केही पनि होइन, यो फसाइएको हो, सुनियोजित गरिएको हो, जनवरीमा भएको, जनवरी फेबु्रअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारतिरबाट हान्न खोजिएको हो, पार्टीलाई तीनवटै निर्वाचनमा हराउने सुनियोजित योजना हो ।
सम्पूर्ण महानुभाव दाजुभाइ दिदीबहिनी पार्टीका शुभचिन्तक जसले पार्टीलाई राम्रो मान्नुभएको छ, उहाँहरुले भोट दिएर अत्यधिक बहुमतले हाम्रो ३ वटै क्षेत्रका लिडरहरुलाई जिताइदिनुहोला, अब क्लिनचिट पाएपछि हजुरहरुसँग यसरी नै भेट्नेछु धन्यवाद ।’

झूटको श्रङ्खला जारी राखेका ढाका कुमारले पछिल्लो समय दुर्गा प्रसाइँसँग भेटेरै वार्ता गर्न चाहेका थिए । उनका भाई बताउने एक व्यक्तिले प्रसाइँसँग भेट्न खोजेका थिए । उक्त अडियो पनि आएको छ ।
रास्वपाले आजै बैठक राखेको थियो । बैठकको निर्णय आउनु अघि नै ढाका कुमारले पत्रकार सम्मेलन गरेका हुन् ।