मिटरब्याज पीडितमाथि प्रहरीको ज्यादतीः टाउको फुटाइएका घाइतेलाई समेत हिरासतमा राखेर यातना !

दियो पोस्ट  

काठमाडौं । शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप हुँदा दजनौं पिडीतहरु घाइते भएका छन् । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका उनीहरू न्यायका लागि सिंहदरबार अगाडि, भद्रकालीमा गएर धर्नामा बस्न जाने योजनामा थिए । प्रहरीले आफूहरुमाथि बल प्रयोग गरी त्यहाँबाट जान नपाइने भन्दै बल प्रयोग गरेको हुँदा झडप भएको पीडितहरूले बताएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र लाठी प्रयोग गरेको उनीहरूले बताएका छन् । झडपमा परी केही प्रहरी र १५–२० जना पीडितहरू घाइते भएका छन् । घाइतेमा हुनेमा मदन अर्याल, निर्ग नवीन, यमकुमारी ददेल, लोकनारायण सुवेदी, कुलबहादुर थापा, अकबर मिया, विशाखा चौधरी, तिलकराम चौधरी, कृष्ण महतो, प्रदीप नेपाल, रामराजी लहेरी, बेबीदेवी शाहलगायत दर्जनौं गम्भीर घाइते भएका छन् । त्यसै गरि मदन अर्याल, विजय विश्वकर्मा, रामकिशोर पाल, निर्ग नवीन, हिमांशु घिमिरे, बिनोद लोहनी, निर्जन विश्वकर्मा, वसन्त सापकोटा, प्रशन्न पराजुली लगायत दर्जनौंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गम्भिर घाइतेलाई समेत प्रहरीले अस्पताल नलिई नियन्त्रणमा राखेको छ ।

झडपमा गम्भिर घाइते भएकी यमकुमारी ददेल यस्तो अवस्थामा समेत प्रहरीले अस्पताल नलिएको बताइन् । उनले दियोपोष्टसँग भनिन्, ‘प्रहरीले अस्पतालसम्म लिएको छैन, मलाई बान्ता भइरहेको छ ।’

विरोध र जुलुस गर्न पाउने जनताको सामान्य लोकतान्त्रिक अधिकारमाथि पनि निर्लज्ज दमन गर्दै जुलुस नै गर्न नदिई निर्मम लाठी प्रहार गरेको भन्दै वैज्ञानिक समावादी कम्युनिष्ट पार्टीले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार गरिसकेर प्रहरी हिरासतभित्र समेत आन्दोलनकारीमाथि निर्मम लाठी प्रहार गरिएको छ । पार्टी सरकारको यसप्रकारको कायरतापूर्ण दमनकारी रवैयाको गम्भीर विरोध गर्दछ । र घाइते साथीहरुको निः शुल्क उपचार एवं गिरफ्तार साथीहरुको रिहाइको गम्भीर अपिल गर्दछ । र मिटरव्याज एवं ठगीविरुद्धको आन्दोलनप्रति दृढतापुर्वक ऐक्यबद्धता जाहेर गर्दछ ।’

 काठमाडौं प्रहरीका प्रवक्ता एसपी सिताराम रिजालले घटनामा घाइते भएकाहरु ९ जनालाई विभिन्न अस्पतालमा उपचार गरिएको बताए । ‘घाइते भएकाहरुलाई हामीले राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका छौँ । नेपाल प्रहरी अस्पताल, ट्रमा सेन्टर र वीर अस्पतालमा उपचार गराइएको छ,’ रिजालले दियोपोस्टसँग भने ।