राष्ट्रपति पौडेललाई थप उपचारका लागि एम्स पुर्‍याइयो

दियो पोस्ट  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएको छ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको हो ।

लामो समय एन्टिबायटिक चलाउँदा पनि स्वास्थ्यमा उत्साहजनक सुधार नभएको भन्दै परिवारका सदस्यले थप उपचारका लागि भारत लैजाने इच्छा प्रधानमन्त्रीसँग राखेका थिए ।

छातीमा संक्रमण देखिएपछि उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल गएका थिए । उपचारमा संलग्न एक चिकित्सकका अनुसार त्यही दिन छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको ती चिकित्सकले बताए ।