गुल्मी । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।
डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका वडानम्बर–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गत बिहीबार धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर गम्भीर घाइते भएका थिए । उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सोही जंगलको डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।